
बुटवल, २५ फागुन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) रुपन्देहीको जिल्ला भेला सहिद स्मृति प्रतिष्ठान बुटवलको सभाहलमा एक समारोहका बीच सम्पन्न भएको छ ।
Against सम्बोधन गर्दै प्रमुख अतिथी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज दामा शर्माले महिलाहरु परिवर्तनका सम्वाहक भएको बताईन् । नेपालका हरेक परिवर्तनकारी आन्दोलनमा महिलाहरुको भूमिका प्रमुख भएता पनि राजनीतिक दलहरुले प्रमुख पदमा महिलालाई अझै स्वीकार गर्न नसकेको भन्दै संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्ने निकाय नै मौन र फितलो भएको जीकिर गरिन् ।
उनले पछिल्लो समय महिलाहरुलाई हरेक निकायमा उपमा मात्र सिमित बनाएको भन्दै हरेक निकायमा महिलाको समान सहभागिताका लागि सरकारले प्याकेजमा कार्यक्रम ल्याई कार्यान्वयन गर्नुपर्ने बताईन । त्यस्तै आर्थिक रुपमा आत्मनिर्भर बन्न महिलाहरुले उत्पादनमुलक काममा विशेष प्राथमिकता दिई स्वरोजगार बन्न आग्रह समेत गरिन् ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले महिला, दलित, जनजाति, मधेशी र सिमान्तकृतलाई अधिकार सम्पन्न गराउनका लागि निरन्तर प्रयास गरिरहेको बताए । माओवादी जनयुद्ध र ०६२ / ०६३ सालको जनआन्दोलनको उपलब्धिकै कारण बर्षोदेखि पछाडि पारिएकाहरुको हितमा संविधान रहेको भन्दै राज्यका हरेक निकायमा महिलाको सहभागिता सुरक्षित रहेको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका कोषाध्यक्ष निर्दोष अली, नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक नारायण जि.सी., रिज्जु श्रेष्ठ, सुजित विक, मिन प्रसाद ज्ञवाली, दीपा विकलगाएतको उपस्थिति रहेको थियो । भेलाले दीपिका शर्माको संयोजकत्वमा ५३ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । जसको सहसंयोजकमा राधा पौडेल, सचिवमा धन कुमारी चौधरीलगाएत निर्वाचित भएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) रुपन्देहीका संयोजक टिका वलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कुमारी घर्तीले गरेकी थिईन् ।