साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

बंगलादेशमा भइरहेको साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको नेपालका लागि उपाधिको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ ।

उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८–१ ले पराजित भएको थियो । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा युरोपियन राष्ट्र रुस समेत सहभागी छ ।

रुसले आज घरेलु टोली बंगलादेशसँग पहिलो खेल खेल्दैछ र यो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

यसअघि गत नोभेम्बरमा यू–१५ फर्म्याटमा भएको च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो ।

यस पटक त्यसलाई परिमार्जन गर्दै यू१७ फर्म्याटमा आयोजना गरिएको हो । नेपालले तेस्रो खेल आउने आइतबार रुससँग र चौथो खेल मंगलबार बंगलादेशसँग खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation