बुद्धमा भौतिकवादी र द्वन्द्ववादी दुवै गुण थियो ः प्रधानमन्त्री दाहाल

रूपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वृहत्तर लुम्बिनी क्षेत्र सर्वोत्कृष्ट बौद्धस्थल भएको बताएका छन् । यहाँको ऐतिहासिक र पुरातात्त्विक क्षेत्रको संरक्षणमा सरकारले विशेष ध्यान दिने उनले आश्वस्त पारे ।

२५६७औं बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धमा भौतिकवादी र द्वन्द्ववादी दुबै गुण रहेको बताएका छन् । वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास गरेको उनको भनाई थियो ।

 

‘आजभन्दा २५६७ वर्ष पहिला नेपालको लुम्बिनीमा जन्मिनुभएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहीआएको छ । बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै हुनुहुन्थ्यो, वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर उहाँले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गर्नुभयो,’ बुद्धलाई स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा उहाँको योगदान विश्वव्यापी रूपमा सर्वमान्य छ । तसर्थ, पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व हुनुभयो ।’

नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गरेको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण मानिने प्रधानमन्त्रीले बताए ।

 

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, चिनियाँ राजदूत च्याङ सोङ, यूएनडीपीका नेपाल प्रतिनिधि एशियनी लादे, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको महत्त्वबारे बोलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation