सर्वोच्चको फैसलापछि रेशमको प्रतिक्रिया ःरत्तिभर मन विचलित भएको छैन

३ जेठ, काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् ।

सर्वोच्चले मंगलबार मात्र रेशमलाई जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको थियो । यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै रेशमले फैसलाले आफ्ना लागि न्यायिक नभए पनि स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् ।

 

‘टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैस्ला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ’, उनले भनेका छन्, ‘हामी सम्मानित अदालतलाई सदा समान गर्छौं ।’

न्यायालयप्रति आफ्नो भरोसा रहेको भन्दै उनले फैसलालाई लिएर अनर्गल प्रचार नगर्न सबैलाई आग्रह गरेका छन् ।

‘सबैलाई सम्मानीत सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु,’ डिल्लीबजार कारागारमा धैर्य र सहनशीलताका साथ कैद भुक्तान गरिरहेको भन्दै उनले भनेका छन्, ‘स्वस्थ छु, रत्तिभर मन विचलित भएको छैन ।’

कारागारमा ‘धरातल’ नामको पुस्तक लेखिरहेको र छिट्टै आउने समेत उनले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation