प्रधानमन्त्री प्रचण्ड र मोदी बिच आज ११ बजे भेटबार्ता हुने

नयांदिल्ली जेठ १८ भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

यि दुई समकक्षी बीच बिहान ११ ०५ बजे हैदरावाद हाउसमा भेटवार्ता हुने कार्यतालिका छ। दुई प्रधानमन्त्रीबीच आधा घन्टा बेग्लै छलफल गरेपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीबीच नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रबर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा छलफल हुनेछ बताइएको छ।

भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुने बताइएको छ।

यस्तै सिलीगुडी चारआली पाइप लाइन र टर्मिनल ट्याङ्क निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइप लाइन र स्टोरेज टर्मिनल ट्याङ्क निर्माणका बारेमा सहमति हुनेछ।

आजै केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्नेछन्।

त्यसपछि ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय गरिएको छ। अपराह्न साढे चार बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्।

साँझ साढे पाँच बजे नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

भ्रमणको तेस्रो दिन भोली प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्नेछन्। त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेको छ। त्यहां उनले मध्यप्रदेशका राज्यपालसँग पनि भेटघाट गर्नेछन्। भने उनी पर्सि सनिवार प्रधानमन्त्री प्रचण्ड नेपाल फर्कने छन्।

चारदिने भ्रमणका लागि बुधबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

प्रधानमन्त्री प्रचण्डसँग बुधबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका थिए।

डोभलसँगको भेटघाटपछि प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएका थिए। रात्रिभोजका क्रममा प्रधानमन्त्री प्रचण्डले प्रवासी नेपालीहरूलाई सम्बोधन गरेका थिए।

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल,मुख्यसचिव शंकरदास वैरागीसहित ८ जना सचिवहरू रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation