सोमपालको अर्धशतकमा नेपालले पाकिस्तान ए लाई दियो १८० रनको लक्ष्य

२९ असार, काठमाडौं । सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ए लाई जितका लागि १८० रनको लक्ष्य दिएको छ ।

कोलोम्बोस्थित कोलोम्बो क्रिकट क्लब ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सोमपालको उत्कृष्ट इनिङ्स बावजुत नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो ।

 

सुरुमा पाकिस्तानी बलर मोहम्मद वासिम जुनिय र शहनवाज दहानीको बलिङसामु नेपालको इनिङ्स धर्मराएको थियो । नेपालले रन बनाउन संघर्ष गरिरहेको थियो ।

सुरुवाती १० ओभरभित्रै ६ विकेट गुमाएको नेपालले त्यसपछि १६ ओभरभित्र ८ विकेट गुमाइसकेको थियो । तर सोमपाल र प्रतिशले इनिङ्स सम्हालेपछि नेपालले ३७ ओभरसम्म ब्याटिङ गर्न सफल भयो ।

नेपालका लागि नवौं नम्बरमा ब्याटिङ गरेका सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । उनले १०१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे ।

यस्तै दशौं नम्बरमा ब्याटिङ गरेका प्रतिश जिसीले २४ बल खेल्दै १ चौका र २ छक्का मदतमा २६ रन बनाए ।

१५।४ ओभरमै नेपाल ७२(८ को नाजुक अवस्थामा पुगेको थियो । तर नेपालको इनिङ्स उकास्न सोमपाल र प्रतिश मिलेर नवौं विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरे ।

दशौं विकेटका लागि सोमपालले ललित राजवंशीसँग मिलेर ४९ रनको साझेदारी गरे । सोमपालले ३३औं ओभरको पहिलो बलमा हमद बटलाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अर्जुन साउद र कुशल मल्लले समान १७ रन बनाएर आउट भए ।

गुल्सन झाले १३ र आसिफ शेखले १२ रन जोडे । कप्तान रोहित पौडेल ४ तथा कुशल भुर्तेल र पवन सर्रफ समान १ रनमा आउट हुँदा भीम सार्कीले खाता समेत खोल्न सकेनन् ।

नेपाललाई अलआउट गर्न पाकिस्तान ए का लागि दहानीले १० ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चेर ५ विकेट लिए । यस्तै मोहमद वासिम जुनियरले १० ओभरमा १ मेडन राख्दै ५१ रन खर्चेर ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation