१७ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम सुधारका लागि भन्दै पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्व टोलीले बनाएको प्रतिवेदनमाथि बनाइएको अर्को प्रतिवेदन बुझेका छन् ।
क्षेत्रीको नेतृत्वमा नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिले गत वर्ष नै प्रतिवेदन दिएको थियो । जसमा जहाज किन्न सोल्टी होटलमा रहेको सेयर बेच्न सकिने समेतका सुझाव दिए ।
यो प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस गर्न मन्त्री किराँतीले बनाएको अर्को समितिले चौथो प्रतिवेदन मन्त्रीलाई बुझाएको पर्यटन मन्त्रालयले जनाएको छ ।
पूर्वक्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वको सिफारिस समितिले बिहीबार प्रतिवेदन बुझाएको हो ।
समितिले मन्त्री किराँती, मन्त्रालयका सचिव दिपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई संयुक्त रुपमा प्रतिवेदन बुझाएको हो ।
समितिले बुझाएको प्रतिवेदनमा ४ ओटा बुँदा समावेश छन् । पहिलो बुँदमा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगम सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिक रुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर बिक्री गर्ने रहेको छ ।
चौथो बुँदामा निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउन प्रतिवेदनमा दिइएको सुझावलाई प्रभावकारी कार्यन्वयन हुनु पर्ने उल्लेख छ ।