नेसपाले खारेज गर्‍यो यादव पक्षले माओवादीसँग गरेको एकता घोषणा

४ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादी केन्द्रसँगको पार्टी एकता खारेज गरेको छ ।

आइतबार अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग गरेको एकता खारेज गर्ने निर्णय गरेको हो ।

 

‘केही साथीले माओवादीसँग एकता गरेको भनेर निकालेको विज्ञप्ति पार्टीको निर्णय अनुसार होइन । हाम्रो पार्टीको एकता संयोजन समितिको संयोजकको पनि उपस्थिति छैन । त्यसैले स्वतः खारेजभागी छ’, केन्द्रीय कार्यकारिणी समिति सदस्य कृष्ण शर्माले भने, ‘पार्टी विधि पद्धति, संगठनको अनुशासन तोडेर रातारात सत्ता समीकरणको खेलमा अमूक स्वार्थ पूरा गर्ने ध्येयले सिंगो पार्टी सदस्यलाई भ्रमित पारियो ।’

उनले सोमबार बस्ने बैठकमा सहभागी नहुने केन्द्रीय सदस्यलाई पदमुक्त गरिने जानकारी समेत दिए ।

 

शर्माका अनुसार नेसपाको विधानमा केन्द्रीय कार्यकारिणीमा ३५ जनाको व्यवस्था भए पनि हाल २९ जना रहेकाछन् । त्यसमध्ये आइतबारको बैठकमा २० जना सहभागी थिए ।

शर्माले अब पार्टीलाई महाधिवेशनको दिशामा अगाडि बढाउने बताए । जनयुद्धको विरासत बोकेकाहरू नेसपामा रहेको भन्दै उनले आफूहरू कुर्सीको खेलमा नलाग्ने र अग्रगमनका लागि कार्ययोजनासहित अघि बढ्ने बताए ।

नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग पार्टी एकता गर्नेसहितका चार बुँदे सहमति गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation