नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य

१३ चैत, काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनायो ।

नेपालका बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाए । चौथो विकेटका लागि गुलशन र रोहित पौडेलले ७१ रनको साझेदारी गरेका थिए । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्रामक इनिङ खेले । नेपालले ओपनर आसिफ शेखलाई ११ रनमा गुमाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट भए ।

सन्दीप जोराले १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । कप्तान रोहित पौडेलले २४ बला ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहे । आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले एक÷एक विकेट लिए ।

नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । यसपछि नेपालको सिनियर टोली भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्न जानेछ । नेपालले बरोडा र गुजरातसँग सिरिज खेल्नेछ । आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’सँग समान तीन टी(२० र एकदिवसीय अभ्यास खेलको सिरिज पनि खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation