
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज संसदमा विश्वासको मत लिने भएको छन् । चैत २३ गते मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता महराले आज शुक्रबार दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।
तर सरकार गठन हुनुअघि नै दलहरुको बीचमा भएको सहमति कार्यान्वयन नभएको भन्दै साना दलहरुको घुर्कीले मुख्यमन्त्रीसहित माओवादी केन्द्रका नेताहरुले सशंकित बनाएको छ ।
५ राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका महराको पक्षमा नेकपा एमालेका २९, माओवादीका १० (सभामुख बाहेक) नागरिक उन्मुक्तिका ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा एकीकृत समाजवादीका १ जना र एक स्वतन्त्र गरी ४८ सदस्यको समर्थन छ । ८७ जना प्रदेश सदस्य सङ्ख्या रहेको लुम्बिनीमा बहुमतका लागि ४४ जना सदस्यको समर्थन आवश्यक पर्छ ।
विश्वासको मत प्राप्त गरेपछि मात्रै मुख्यमन्त्री महराले मन्त्रीपरिषद विस्तार गर्ने योजना बनाएका छन् । अहिले सरकारमा एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जना मन्त्री छन्। सहमतिअनुसार एमाले ५, माओवादी ३, जसपा २, नेकपा एस र स्वतन्त्र एकएक बनाइएको थियो पछि नाउपा थपिएपछि अर्को समस्या भएको हो । मुख्यमन्त्री जोखबहादुर महराले केही मन्त्रालय थपिने संकेत गरिसकेका छन् । यद्यपी मन्त्रालय बाँडफाटको टुङ्गो अझैसम्म लागेको छैन ।