तराईका जिल्लाहरुमा हावाहुरी र अत्याधिक गर्मी बढ्ने चेतावनी

काठमाडौं। तराईका भू–भागहरूमा अत्यधिक गर्मीसँगै हावाहुरी समेत चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

विभागले लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम मापन गरेको छ । विभागले आगामी पाँच दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने विभागले जनाएको छ ।

विभागले तातो हावा तथा लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नजाने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पटक–पटक पानी तथा झोल पदार्थ जुस, सर्बत, आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation