सुत्केरीको हत्या आरोपमा ५ महिला पक्राउ, अझै २ जना फरार

बुटवल । प्यूठानको सरुमारानी गाउँपालिका–४ ओखरडाँडा (साबिक हशंपुर गाविस वडा नम्बर ९) मा एक महिलाको हत्या आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । १७ वर्षअघि भएको हत्याको घटनामा आरोपित २ जना अझै फरार रहेका छन् । आरोपित एक जनाको मृत्यु भैसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

स्थानीय ३० वर्षीया हरिकला बुढाथोकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा १७ वर्षपछि आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको हो । ९ असोज २०६३ मा उनीमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाईते हरिकलालाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ९तत्कालिन लुम्बिनी अञ्चल अस्पताल०मा ल्याइएको थियो । उपचारको क्रममा १२ असोज २०६३ मा उनको मृत्यु भएको थियो ।

बुढाथोकीको मृत्यु भएको घटनामा संलग्न वर्ष ६७ की हुमि कुमारी देवी सारु, वर्ष ७५ की दिलिसरा देवी सोमैलाई पक्राउ गरि अनुसन्धान गर्ने क्रममा थप खुल्न आएका घटनामा संलग्न वर्ष ४० की सिता देवी पुलामी, वर्ष ३९ की झविसरा पुलामी र वर्ष ४९ की पुतली देवी नेपाली समेतलाई पक्राउ गरि आवश्यक अनुसन्धान कार्य गरि प्यूठान जिल्ला सरकारी वकिल कार्यालय मार्फत यही वैशाख १३ गते प्यूठान जिल्ला अदालतमा पेश गरिएको छ । उक्त घटनामा संलग्न ५३ वर्षीया निमिसरा राना र ४३ वर्षीया तारा बहादुर सारु अझै फरार रहेका छन् । घटनामा संलग्न भएकी ५३ वर्षीया हुमीकुमारी रानाको २५ असार २०८० मा मृत्यु भैसकेको छ ।

हरिकलाका श्रीमान धुर्वराज बुढा मगर रोजगारका लागि भारत गएको १४ महिनापछि हरिकलाले बच्चा जन्माएपछि अवैध सम्बन्ध राखेको भन्दै कुटपिट भएको थियो । सुत्केरी अवस्थामै कुटपिटबाट हरिकलाको ज्यान गयो भने जन्मेको ५ दिनमै शिशुले समेत ज्यान गुमाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation