बुटवल, २ साउन । रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ सातदिने ट्राफिक सचेतनामूलक अभियान कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजना तथा नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको सह–आयोजनामा जिल्लाका विभिन्न स्थानमा उक्त अभियान सञ्चालन भएको हो ।
सवारी दुर्घटना न्यूनीकरण गर्न र लेन अनुशासन पालना गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनले सातदिने अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । प्रजिअ अर्यालले भने, ‘हामी सबै सडक प्रयोगकर्ता हौं । लेन अनुशासन नगर्दा दुर्घटना बढेको छ । त्यसैले पनि सचेतनामूलक कार्यक्रम गरिएको हो । ’अभियानले निरन्तरता पाउने उनको भनाइ छ ।
अभियान अन्तर्गत ठूला ११ हजार ६ सय १२ र साना १९ हजार ५ सय ८३ वटा सवारीसाधनका चालकहरुलाई सचेत गराइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम बहादुर खत्रीले बताए । अभियान अन्तर्गत ६ हजार वटा सचेतनामूलक पर्चा वितरण गरिएको एसपी खत्रीले जानकारी दिए ।
उनले सडक विभागले स्पीड लिमिट र सडकमा लेन तोकेकाले त्यसको पालना गर्नुपर्ने बताए । उनले भने, ‘आफ्नो सवारीलाई आफ्नो लेनमा नै चलाउनुपर्छ ।’
सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउनु अभियानको उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्टले बताए । उनले भने, ‘यो कार्यक्रमले सडक लेन अनुशासन पालना गर्नुपर्छ भन्ने आम सर्वसाधारणमा सन्देश जानेमा विश्वस्त छौँ ।’
नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पुर्ण थापाले लेन अनुशासन पालना गरे सवारी दुर्घटना न्यूनीकरण हुने बताए । उनले सवारी दुर्घटना न्यूनीकरण नै ‘मेरो सवारी मेरो लेन’ सातदिने ट्राफिक सचेतनामूलक अभियानको उद्देश्य रहेको जानकारी दिए ।
साई ग्लोबल एकेडेमी, भैरहवाका प्रिन्सिपल डा. कौशलराज गौतमले सडकमा सिकाउने कुरा महत्वपूर्ण भएको बताए । उनले अभियानमा ३ वटा विद्यालयका ६० जना विद्यार्थीहरु सहभागी भएको बताए ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले सडक दुर्घटना न्यूनीकरणका लागि हुने कार्यक्रममा बीमा कम्पनीले बजेट छुट्याएर आवश्यक सहयोग गर्नुपर्ने बताए । उनले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघका महासचिव रुमाखर गौतमले सवारी दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेकाले यस्तो अभियान प्रभावकारी भएको बताए । उनले सडकको समस्याका कारण सवारीधनी र चालकलाई सजाय दिन नहुने बताए ।
अभियानमा यातायात व्यवसायी, बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय, काशी नोबल एकेडेमी, साई ग्लोबल एकेडेमी र मुनलाईट आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरु, उद्योगी–व्यवसायीलगायतको सहभागीता रहेको थियो ।
गत असार २६ गते बुधबार सीमा नाकामा बेलहियामा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्टीकर बसमा टाँसेर गृह सचिव एकनारायण अर्यालले अभियानको थालनी गरेका थिए ।