भेटियो हराएको बस खोज्दा त्रिशुलीमै गायव भएको चुम्वक

चितवन। हराएका बस खोज्ने क्रममा त्रिशूलीमा हराएको चुम्बक सोमबार फेला परेको छ। चितवन प्रहरीका अनुसार उक्त चुम्वक चितवनको काभ्रेघाटमा फेला परेको हो।

गत असार २८ गतेदेखि हराइरहेको दुईवटा यात्रुवाहक बस खोज्न भारतबाट ल्याएर प्रयोग गरीएको १९ किलोको चुम्बक गएको शनिवार अपरान्ह त्रिशुलीमै हराएको थियो।

चितवनको भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा आएको पहिरोले काठमाडौबाट रौतहट जांदै गरेको गणपति ट्रावल्सको बस र बिरगंजबाट काठमाडौ जांदै गरेको एन्जल्स ट्राभल्सको बस त्रिशूलीमा खसेका थिए।

बस खोज्न भारतबाट १९ किलो र १४ किलोको दुइटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू गरिएको थियो। त्यस क्रममा चुम्बकसँगै लाइफ ब्वाई ट्युब समेत पानीले बगाएको थियो। लाइफ ब्वाई ट्युब पानीमा मानिस डुबेको बेला उद्धारको लागि प्रयोग गरिन्छ।

हराएको चुम्बक र ट्युब सोमबार भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। त्रिशूली नदीमा चुम्वक हराएपछि बस खोज्न भारतबाट ल्याईएको उद्धार टोली (एनडिआरएफ) आइतबार नै फर्किसकेको छ।

असार २८ गते बिहान साढे ३ बजेतिर त्रिशूली नदीमा दुईवटा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले सोही दिनदेखि उद्धारको काम सुरू गरेको थियो।

सरकारले असार ३१ गते खोज तथा उद्धारका लागि भारतको सहयोग मागेपछि भारत सरकारले एनडिआरएफको १२ सदस्यीय टोली पठाएको थियो। साउन ५ गते भरतपुर आइपुगेका उनीहरुले भोलिपल्टदेखि नदीमा पुगेर काम सुरू गरेका थिए।

उनीहरूले ल्याएका सोनार क्यामेरा लगायतका उपकरणहरू प्रयोग गरी बस खोजिएपनि भेटिन सकेको छैन।

दुइटा बसमा ६५ जना यात्रु थिए। उनीहरूमध्ये हालसम्म १९ जनाको शव फेला परेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation