कांग्रेस रुपन्देही–३ ले ‘राष्ट्रिय प्रशिक्षण कार्यक्रम’ को आतिथ्यता गर्ने

भैरहवा, २८ साउन । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीको २० औं नियमित बैठक आइतबार जिल्ला पार्टी कार्यालय, भैरहवामा सम्पन्न भएको छ । बैठकले कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीले केन्द्रिय कार्यक्रम अन्तर्गत ‘केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ को समन्वयमा ‘प्रतिनिधि सभा क्षेत्रीय सभापतिहरुको दुईदिने राष्ट्रिय प्रशिक्षण कार्यक्रम’ को आतिथ्यता गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।

राष्ट्रिय प्रशिक्षण कार्यक्रम २०८१ साल कार्तिक ३० देखि मंसिर १ गतेसम्म भैरहवामा हुने क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।

बैठकमा बोल्ने अधिकांश वक्ताहरुले यसप्रकारका कार्यक्रमले देशैभरीका क्षेत्रीय सभापतिहरुलाई एकै ठाउँमा ल्याउँदा यहाँको आन्तरिक पर्यटनको विकासमा टेवा पुग्ने बताए । शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवालाई चिनाउन अझ मद्दत पुग्ने उनीहरुले बताए । कार्यक्रमले अद्यावधिक कुराहरु प्रशिक्षण, परस्पर समन्वय, भातृत्व तथा समग्रमा पार्टीको संगठन बलियो र प्रभावकारी बनाउन टेवा पुग्ने उनीहरुको भनाइ थियो ।

बैठकले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकको शीघ्र स्वास्थ्य लाभको कामना, जिल्ला सभापति तथा तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाण नगर विकास कोषको सदस्यमा मनोनित भएकोमा बधाई तथा जिल्ला उपसभापति तथा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलाई मातृशोक परेकोमा शोकसन्तप्त परिवारमा समवेदना प्रस्ताव पारित गरेको छ ।

बैठकमा कांग्रेस महासमिति सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, संविधान सभा सदस्य जन्नतुन निशा धुनिया, महासमिति सदस्य विमल ढकाल, पूर्व प्रदेशसभा सदस्य पुष्पा थरुनी, महाधिवेशन प्रतिनिधि तथा लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य रमेश खनाल, विना न्यौपाने, लक्ष्मण सुवेदी, सुर्यनारायण यादव, महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली, महेन्द्र कुमार श्रेष्ठ, बसन्त कुमार लाल कर्ण, दिपेन्द्र बुढाप्रिति, क्षेत्र नम्बर ३ ‘ख’ का सभापति घनश्याम चालिसे, क्षेत्रीय सचिव भवानी शर्मा, सह–सचिव कुल प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

क्षेत्रीय उपसभापति सुरेन्द्रजंग थापाको स्वागत तथा क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation