सैनामैना । सुनगाभा पब्लिक स्कुलको जुनियर रेडक्रस सर्कलद्वारा विद्यालयमा विद्यार्थीहरूका लागि एक विशेष जनचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई ट्राफिक नियम पालनाको महत्व बारे जानकारी गराउन जनचेतनात्मक कार्यक्रम गरेको विद्यालयले जनाएको छ । कार्यक्रम विद्यार्थीहरूको लागि अत्यन्तै लाभदायिक र उनीहरूलाई ट्राफिक नियमहरूबारे जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक तिलव केसीले कार्यक्रममा बोल्दै सुरक्षित समाजको निर्माणका लागि ट्राफिक नियमको पालनाको महत्त्वलाई गम्भीरतापूर्वक लिन आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरू देशको भविष्य हुन्, र उनीहरूलाई सही मार्गदर्शन प्रदान गर्नु हाम्रो नैतिक जिम्मेवारी हो। ट्राफिक नियमको पालना प्रत्येक नागरिकको कर्तव्य हो र यसले जीवन रक्षाको सुनिश्चितता दिन्छ। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूको चेतनामा वृद्धि गरी उनीहरूलाई जिम्मेवार नागरिक बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने जानकारी गराउनुभयो ।
विद्यालयका सहप्राचार्य कमलचन्द्र पौडेलले कार्यक्रमको महत्त्वमाथि जोड दिँदै विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नगरी व्यावहारिक ज्ञानसमेत प्रदान गर्नु आवश्यक रहेको बताउनुभयो। यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न सक्षम बनाउने पौडेलको भनाइ छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रन्यौराका प्रशिक्षकहरूले विद्यार्थीहरूलाई ट्राफिक नियमको आधारभूत सिद्धान्तहरू, सडकमा सुरक्षित तरिकाले हिँड्ने, सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, र विभिन्न ट्राफिक चिन्हहरूको व्याख्या गरी जानकारी प्रदान गर्नुभएको थियो। यस्तै विद्यालय व्यवस्थापन समिति सदस्य रामप्रसाद सुवेदीले यस प्रकारका गतिविधिहरूले विद्यार्थीहरूको चरित्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिलीराज गौतम शिक्षक लक्ष्मण खनाल र जुनियर रेड क्रस सर्कल अध्यक्ष क्रिस्टिना ज्ञवालीको उपस्थिति रहेको थियो। कार्यक्रमले सम्पूर्ण विद्यार्थीहरूलाई ट्राफिक नियमहरूको पालनाबाट हुने फाइदाहरूको बारेमा सचेत गराउँदै, उनीहरूलाई जिम्मेवार र सजग नागरिक बन्न उत्प्रेरित गरेको छ।