पर्यटकलाई लक्षित गर्दै रूपन्देहीको कालीदह नाकामा एकीकृत जाँच बिन्दु सञ्चालन

सैनामैना, २६ भदौ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा सवारीसहित नेपाल भित्रिने पर्यटक लक्षित एकीकृत जाँच बिन्दु सञ्चालनमा ल्याइएको छ । स्थलमार्गबाट मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाकामा गत असार २६ मा एकीकृत जाँच बिन्दु सञ्चालन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ स्थित कालीदह नाकामा पनि बुधबारबाट एकीकृत जाँच बिन्दु सञ्चालनमा ल्याएको हो । स्थानीय पालिकासँग समन्वय गरी यहाँ जाँच बिन्दु संचालनमा ल्याइएको हो ।

बुधबार एकीकृत जाँच बिन्दुको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, उपप्रमुख कल्पना हरिजन, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतले उद्घाटन गरे । सवारीसहित नेपाल भित्रिने पर्यटकलाई ठाउँठाउँमा चेकिङ गरिँदा दुःख पाउने गरेको गुनासो बढेपछि एकीकृत जाँच बिन्दु अवधारण ल्याई सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

उनका अनुसार बेलहियामा जस्तै कालीदहको एकीकृत जाँच बिन्दुमा पनि भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीले एकैठाउँमा जाँच गर्नेछन् । त्यसपछि उनीहरुलाई सुरक्षा जाँचसहितको कार्ड उपलब्ध गराइने छ भने जिल्लाभर अन्यत्र चेकजाँच हुने छैन । ‘सुरक्षाकर्मीलाई शंका लागेका बेला जुनसुकै ठाउँमा चेकजाँच हुन्छ तर नियमतवश वा अन्य बहानामा पर्यटकलाई दुःख दिने गरी चेकजाँच हुने छैन’, प्रजिअ अर्यालले भने, ‘चेकजाँच भइरहेको ठाउँमा एकीकृत जाँच बिन्दुबाट उपलब्ध गराइएको कार्ड देखाएर जिल्लाभर पर्यटकका गाडी आउजाउ गर्न पाउनेछन् ।’

पछिल्लो समय आफ्नै सवारीसाधन लिएर बुद्ध जन्मस्थल लुम्बिनी आउजाउ गर्ने अधिकांश भारतीय पर्यटक कालीदह नाका हुँदै भित्रिन्छन् । बेलहिया–सुनौली नाकाबाट भने भारतसहित तेस्रो मुलुकका पर्यटक पनि भित्रिन्छन् । कालीदहमा अध्यागमन कार्यालय नभएकाले तेस्रो मुलुकका पर्यटक भने बेलहिया–सुनौली नाका हुँदै नेपाल भित्रिनुपर्ने बाध्यता छ । भारतीय पर्यटकलाई भने भिषा नलाग्ने भएकाले बेलहियाँसँगै कालीदह नाका प्रयोग गर्छन् ।

तर, सुरक्षाको बहानामा पर्यटकका सवारी जिल्लाका दर्जन ठाउँमा चेकजाँच गरिन्छ । यसले पर्यटकलाई हैरानी भएको भन्दै गुनासो बढेको थियो । यसपछि प्रमुख जिल्ला अधिकारी अर्यालले बेलहिया–सुनौली र कालीदह नाकामा एकीकृत जाँच बिन्दु सञ्चालनका लागि पहल गरेका थिए । प्रशासनकै पहलमा बेलहिया र कालीदह नाकामा अहिले वाकथ्रु मेसिन राखेर त्यसबाट नेपाल भित्रिने सबै मानिसको सुरक्षा जाँच समेत गरिँदै आएको छ ।

प्रजिअ अर्यालले छिट्टै कालीदह छोटी भन्सारमा भारतीय सवारीको भन्सार सुविधा दिने व्यवस्था मिलाइने जनाए । कोरोना अघि यो नाकाबाट भित्रिने सवारीको भन्सार सुविधा यहीबाट दिइन्थ्यो । तर, अहिले रोकिएको छ । यसलाई पुनः सञ्चालनका लागि प्रशासनले पहल गरिरहेको अर्यालले बताए । उनले कुनै पनि बहानामा पर्यटकलाई दुःख दिने, हैरानी गर्ने र उनीहरुबाट आर्थिक लाभ उठाउने जस्ता काम भए सैह्य नहुने बताए । ‘पर्यटक नेपालमा घुम्न, रमाउन र आनन्द लिन आउँछन्, तर विभिन्न बहानामा दुःख दिने गरेको गुनासाहरु आइरहन्छन्’, उनले भने, ‘अब, पर्यटकलाई दुःख दिने सुरक्षाकर्मी, कर्मचारी वा जोसुकै व्यक्ति भए पनि कारबाही हुन्छ ।’

उनले सबै मिलेर पर्यटकलाई स्वागत गर्ने र रुपन्देहीसहित मुलुकमै शान्त र सुरक्षित वातावरण छ भन्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । उनले चोरी तस्करी र गैरभन्सार क्रियाकलाप रोक्न लागिपरेको जनाए । तीनै तहका सुरक्षा निकायसहित प्रशासनले रातदिन गस्ती गर्ने, चोरीपैठारीका सामान समाउने र त्यसमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउँदै आएको सुनाए ।

नगरप्रमुख सजरुद्दीन मुसलमानले पर्यटकीय वातावरण बनाउन एकीकृत जाँच बिन्दु प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उनले पर्यटकमैत्री वातावरण बनाउन सरकारसँगै स्थानीय बासिन्दाको पनि दायित्व भएको जनाए । उनले कालीदहबाट भारतीय सवारी नेपाल प्रवेश गर्दा भन्सार सुविधा दिने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।

उपप्रमुख कल्पना हरिजले विगतमा पर्यटकलाई ठाउँठाउँमा चेकिङ गरिँदा दुःख पाउने गरेको गुनासो आइरहेको बताउँदै अब त्यो गुनासो हट्ने विश्वास व्यक्त गरिन् । उनले सबै सुरक्षा जाँच एकै ठाउँमा गरिदा पर्यटकीय वातावरण बन्ने र नेपाल र नेपाली सुरक्षा निकायप्रतिको विश्वास पर्यटकमा झनै बढ्ने जनाइन् । नाका व्यवस्थापनले अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश प्रवाह हुने समेत उनको विश्वास छ ।

एकीकृत जाँच बिन्दुमा सवारीको सम्पूर्ण जाँचपछि चालकको नाम, ठेगाना, गाडी नम्बर, गन्तव्य लेखिएको विवरणसहितको पहेंलो कार्ड चालकलाई दिइनेछ । यस्तो सवारीले सुरक्षा जाँच भइरहेको ठाउँमा अन्य कागजात नदेखाई त्यही कार्ड देखाएर गन्तव्यसम्म पुग्नेछन् । नगरपालिकाको लगानीमा कालीदहमा स्थायी संरचना बनाइ एकीकृत जाँच बिन्दु सञ्चालन गरिएको हो । कालीदहको एकीकृत जाँच विन्दुको मुख्य जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ । एकीकृत जाँच बिन्दु उद्घाटन कार्याक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, भन्सार, सुरक्षा प्रमुख, जनप्रतिनिधि, स्थानीयबासी लगायतको सहभागीता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation