रेसुंगा विमानस्थलमा एक महिनापछि पुनः उडान सुरु

९ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको रेसुंगा विमानस्थलबाट एक महिनापछि पुनः उडान सुरु भएको छ । मौसम खराबको कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध हुँदै आएको थियो ।

मौसममा सुधार आएको भन्दै बुधबार र शुक्रबार उडान सुरु गरेको नेपाल एयरलाइन्स रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । चाडपर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिकले सेवा लिन पाएका थिएनन् ।

 

बहुसंख्यक नेपालीको महत्वपूर्ण चाडपर्वकै बेला लगातार उडान अवरुद्ध हुँदा सेवाग्राहीसमेत असन्तुष्ट छन् । रेसुंगा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ ।

बिहानी समयमा बादल लाग्ने गरेकाले लगातार उडान अवरुद्ध हुदै आएको थियो । मौसम खराबको कारणले गत असारको दोस्रो साताबाट २ महिनासम्म उडान अवरुद्ध हुँदै आएको थियो ।

 

पछिल्लो भदौ महिनामा केही दिन उडान भएको थियो । तर अहिले दसैंतिहार जस्ता महत्वपूर्ण चाडपर्वको समयमा लगातार एक महिनासम्म उडान अवरुद्ध हुँदा नागरिकले सेवा लिनबाट बञ्चित भएका थिए ।

यात्रुको अत्यधिक चाप बढेपछि रेसुंगा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको छ । तर पछिल्लो केही समयदेखि बुधबार र शुक्रबार मात्रै उडान भइरहेको स्टेशन प्रमुख थापाले बताए ।

हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तराष्ट्रिय पर्यटन भित्रिन थालेका थिए । अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ ।

रेसुंगा विमानस्थल रेसुंगा नगरपालिका–१० को सिमीचौरमा पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation