बुटवल । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)को सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । सेजभित्र रहेको उद्योगमा करिब १५ लाख बराबरको सामग्री चोरी भएको घटनाले यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको हो । सेजभित्र रहेको जयबुद्ध मेटल क्राफ्ट उद्योगको ट्रान्सफर्मर र उद्योगमा रहेका तयारी सामग्री तथा कच्चा पदार्थ चोरी भएको हो ।
उद्योगका सञ्चालक राजेन्द्र गुप्तामा अनुसार पोलबाट तल झारेर उद्योगमा रहेको ट्रान्सफर्मको क्वाइल तथा उद्योगमा तयार भएका तामा, पित्तल लगायतका धातुका भाडा र कच्चा पदार्थ चोरी भएको हो । आर्थिक अभावले विगत २ वर्षदेखि उद्योग बन्द रहेको थियो । पुनः सञ्चालनको सोच बनाएका उनले यही कार्तिक ८ गते उद्योगमा पुग्दा चोरी भएको पत्तो पाएका हुन् । उद्योगबाट करिब १५ लाख मुल्य बराबरका सामग्री चोरी भएको उनको दाबी छ । गुप्ता २ महिना अगाडि पनि उद्योगमा पुगेका थिए । घटना बारे मौखिक रुपमा उजुरी आएको र थप अनुसन्धानका लागि लिखित निवेदन माग गरिएको ईलाका प्रहरी कार्यालय वेलहीया प्रमुख, प्रहरी निरीक्षक मुकेश न्यौपानेले जानकारी दिए । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन तथा सहजताका लार्गि स्थापना गरिएको औद्योगिक क्षेत्र भित्रै चोरीको घटना हुनुले यहाँको व्यवस्थापनका विषयमा प्रश्न उठेको छ । यहाका लागि सरकारले नै विद्युत, खानेपानी, फोहर निकास, पहुचमार्ग तथा सुरक्षाका लागि व्यवस्था गर्ने भनिएपनि सो अनुसार भने हुन सकेको छैन ।
सेजको सुरक्षाका लागि शसस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना गेटमै तैनाथ रहेका छन् । निरीक्षक पुरुषोत्तम रेग्मीले सेजको मुख्य गेटमा आफूहरु तैनाथ रहे पनि सम्पूर्ण सुरक्षा जिम्मेवारी आफूहरुलाई नभएको प्रतिक्रिया दिए । सेज सुरक्षाका लागि चारैतर्फबाट अग्लो वाल उठाएर घेरिएको छ । चारैतर्फबाट पर्खाल उठाइएको भएपनि ४ ठाउँमा फोहोर निकासका लागि नाली बनाउने भनि होल रहेको भैरहवा सेज कार्यालयका सहायक निर्देशक सपुत डुम्रेले जानकारी दिए । उक्त होलबाट कहिलेकाँही मानिसहरु सेजभित्र छिर्ने गरेको उनले बताए । सेज सुरक्षाका लागि २ जना कार्यालय सहयोगिका रुपमा चौकिदार राखिएको भए पनि बाहिरी क्षेत्रमा सुरक्षाका लागि सशस्त्र प्रहरी रहेको उनले बताए । यद्यपी सशस्त्र प्रहरीबाट यस क्षेत्रमा हुने गतिविधिलाई थप निगरानी र चनाखो हुनु पर्ने उनको बुझाई छ ।
सेजभित्र हाल ८ वटा उद्योग सञ्चालनमा रहेका छन् भने ३ वटा उद्योग बन्द अवस्थामा रहेका छन् । ६८ वटा प्लट रहेको सेजमा २९ वटा प्लट बुक भएका छन् । २०५८ सालमा स्थापना गरिएको सेजको हालसम्म तीन पटक उद्घाटन गरिएको छ ।