लुम्विनी । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र न्यूयोर्क टाईम्सले शीर्ष ९औं गन्तव्यभित्र पारेको छ ।
पत्रिकाले सन् २०२५ का लागि सार्वजनिक गरेका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौं स्थानमा पर्नु खुसिको खवर भएको उपाध्यक्ष डा ल्हारक्याल लामाले जनाएका छन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्यारक्याल लामाले थुप्रै सुधारका कार्य गरेको बेला लुम्बिनी ९औं स्थानमा परेको छ । उपाध्यक्ष लामा २०८० साउनमा उपाध्यक्ष नियुक्त भएका थिए ।
लुम्बिनी विश्वभरका गन्तव्यमा परेपछि पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा छ । कोषका सदस्य सचिव सानुराजा शाक्यले न्यूयोर्क टाईम्सले लुम्बिनीलाई नवौं गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताए ।
अन्तर्राष्ट्रिय पत्रिकाले लुम्बिनीलाई प्राथमिकतामा राख्दा विश्वभर निःशुल्क विज्ञापन हुने जनाइएको छ । कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका छन् । अन्तर्राष्ट्रिय सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभई अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले जनाएको छ ।
पत्रिकाको २०२५ को यात्रा गन्तव्य सूचीमा लुम्बिनीको ऐतिहासिक र आध्यात्मिक महत्वका कारण विशेष स्थानको रूपमा वर्णन गरिएको छ । लुम्बिनीलाई बुद्धको जन्मस्थल भएको रूपमा पनि व्याख्या गरिएको छ ।