सैनामैनामा भोलिदेखि राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

सैनामैना, माघ २४ ।  रूपन्देहीको सैनामैनामा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । शुक्रबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी गराएका हुन् ।

दुधराक्ष युवा क्लबको आयोजनामा हुने सैनामैना–दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीयसहित ७ टिमले सहभागिता जनाउने खेल संयोजक राजकुमार चौधरीले बताए । उनका अनुसार खेलमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश भलिबल संघ, गलकोट भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लबले भाग लिँदै छन् ।

मनोरञ्जनका लागि मात्र नभई व्यावसायिक रूपमा विकास भइरहेको भलिबल खेलले बन्धुत्व बढाउने भएकाले यसपटक क्लबले भलिबल गर्न लागेको उनले बताए । खेल सम्पन्न गर्नका लागि ४५ लाख ७५ हजार खर्च हुने अनुमान गरिएको छ ।

२०६० सालमा स्थापना भएको उक्त क्लबले विभिन्न सामाजिक कार्य गर्नुका साथै यसअघि वडा कप, जिल्ला स्तरीय भलिबल, क्रिकेट र ब्याडमिन्टन प्रतियोगिता गरिसकेको अध्यक्ष किरण पोख्रेलले जनाए ।

प्रथम हुने टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रोले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ र तृतीय पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । सान्त्वना हुने टिमले ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation