लुम्बिनी तिनाउ पुस्तकालयको बार्षिक साधारण सभा सम्पन्न

सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको १३ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन आईतबार सम्पन्न भएको छ ।

अठारौं पुस्तकालय दिवसको अवसर पारेर गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले काठमाडौं बाहिर तिनाउ पश्चिममा रहेको पुस्तकालयले यस क्षेत्रमा प्रसंशनीय काम गरेको बताउनुभयो । नगर प्रमुख शर्माले लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय एउटा अनुसन्धान केन्द्र हो भन्दै विज्ञहरुलाई बोलाएर यस क्षेत्रका जनताका आधारभूत कुरा के छ, त्यसमा छलफल गराउनुपर्ने बताउनुभयो । उहाँले स– साना प्राविधिक तालिमहरु दिएर युवाहरुलाई रोजगार बनाउन सकिने भएकोले पुस्तकालयले गरेको प्रयास सराहनीय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा रामापुर रिभाईबल इङलिश बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णप्रसाद शर्माले लुम्बिनी तिनाउ पुस्तकालय यस क्षेत्रको उत्कृष्ट पुस्तकालय रहेको बताउदै आगामी दिनमा यो पुस्तकालयको अस्तित्वलाई अझै जीवन्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी रामापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले पुस्तकालयहरु लोप हुँदै गएको बेला लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयले यस क्षेत्रको गौरव बढाएको बताउनुभयो ।
पुस्तकालयको बार्षिकोत्सव तथा अधिवेशन एवं पुस्तकालय दिवसको अवसरमा विभिन्न विधामा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई पुरस्कृत एवं सम्मान गरिएको छ । पत्रकारिता विधा अन्तर्गत कान्तिपुर दैनिकका कपिलबस्तु संवाददाता तथा फोटो पत्रकार मनोज पौडेललाई सम्मान गरिएको छ ।
मोफसलमा रहेर तीन दशक निष्ठापूर्ण पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको भनी उच्च कदर गर्दै उहाँलाई दोसल्ला, प्रसंशापत्र र नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो ।
त्यसैगरी साहित्य बिधातर्फ रुपन्देहीकी सुमिना कुँवर र स्वास्थ्य विधातर्फ पाल्पाकी स्वास्थ्यकर्मी बसन्ता कुँवर सिलवाललाई सम्मान गरिएको छ ।
पुस्तकालयका संस्थापक युवराज काफ्लेले आफ्नो बुवा कृष्ण काफ्लेको स्मृतिमा स्थापना गर्नुभएको कुश्माखर ट्रस्टबाट पुरस्कार तथा सम्मान गरिएको हो ।
लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष मुक्तबहादुर थापा र सचिव रिमबहादुर श्रेष्ठले गर्नुभएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष माया ज्ञवालीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation