
सैनामैना, असोज ४ । सैनामैना नगरपालिका मुर्गिया स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाकी संचालक समिती सदस्य तथा मुर्गिया सेवाकेन्द्रका संयोजक लिला कुमारी थापाको अध्यक्षता र सैनामैना नगरपालिका वडा न ३ का अध्यक्ष तम बहादुर पुर्जाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
सिल्भर ब्राण्ड प्राप्त गर्न सफल नेपालको एक मात्र सहकारि जनउत्थान साकोसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ ।
साकोसकी मुर्गिया शाखा प्रमुख लिला कुमारी थापाले सदस्यहरुलाई व्यवसायिक रुपमा सक्षम बनाउन जनउत्थान साकोसले निरन्तर कार्य गरिरहेको बताउनुभयो । जनउत्थान साकोसले एशियाली ऋण महासंघको फोरम २०२३ बाट पनि एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको थियो । सदस्यलाई गर्भदेखि स्वर्गसम्मको लागि आवश्यक पर्ने बचतका प्रकारहरु सञ्चालनमा ल्याउने, सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी सहकारीको महत्वका वारेमा बुझाउने र विद्यालयमा विद्यार्थी क्लब स्थापना गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उद्देश्य साकोसको रहेको थापाले जानकारी गराइन । त्यसैगरी साकोसले गत बर्ष सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा विशेष जोड दिएको र यसमा निरन्तरता कायम गरिने पनि जनाएको छ ।
साकोसकी उपसमिती सदस्य ममता बुढाथोकी, सल्लाहकार श्यामलाल खरेल, वडा सदस्य जमुना पुन सुनार, सहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रमुख हेम बहादुर थापा, मोति राना लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो भने रिता भुषालले संचालन गर्नुभएको थियो । कुल सदस्य मध्ये १० हजार ८९१ जना सदस्यले संस्थाबाट ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन ।