बुतवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशलाई कमजोर पार्ने र संकटमा धकेल्नेहरुलाई चुनावबाटै पराजित गर्नुपर्ने बताएका छन् ।
उनले २१ फागुनको निर्वाचनलाई सामान्य हारजितको प्रक्रिया मात्र नभई राष्ट्रको स्वाधीनता र एकता बचाउने जनमत संग्रहको रूपमा लिनुपर्ने बताए । रुपन्देही ५ को लुम्बिनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचनलाई मतदाताले विशेष जिम्मेवारीबोधका रुपमा लिनुपर्ने उल्लेख गरे ।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सहजीकरण गर्न र निकासको लागि आफू र माधव नेपालले पहल गरेको पनि सो अवसरमा उनले स्मरण गराए ।
शुरुमा निर्वाचन बाहेक अर्को लोकतान्त्रिक विकल्प नभएको अवस्थाबाट गुज्रिएको देश अहिले अनेकौँ उतार चढावका बाबजुद सिङ्गै निर्वाचनमा होमिनु खुसी र गर्वको विषय भएको दाहालको भनाई छ ।
नेकपा अध्यक्ष दाहालले राष्ट्रको एकतालाई प्रवद्र्धन गर्न चाहने र राष्ट्रलाई संकटमा धकेल्न खोज्ने शक्तिहरू बिचको प्रतिस्पर्धाका रूपमा यो चुनाव रहेको उल्लेख गरे ।











