रुपन्देहीमा निर्माण उद्योग संकटमाः व्यवसायीद्वारा आपत्काल घोषणा गर्न माग

  1. रुपन्देही । रुपन्देहीका निर्माण व्यवसायीहरूले निर्माण सामग्रीको पटक–पटक भएको अस्वाभाविक मूल्यवृद्धि र सामग्री अभावका कारण निर्माण उद्योगमा संकट उत्पन्न भएको भन्दै आपत्काल घोषणा गरी मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन् ।

मध्यपूर्व एसियामा जारी युद्धका कारण निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दै गएको र स्वदेशमै उपलब्ध हुनुपर्ने नदीजन्य सामग्रीको चरम अभावका कारण निर्माण कार्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन् । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै ठेक्का सम्झौता गर्दा कायम रहेको मूल्य दरभन्दा निर्माण सामग्रीको मूल्य अत्यधिक वृद्धि भए पनि सोअनुसार बिल पेस गर्दा भुक्तानी नपाइएको गुनासो गरेको हो । संघका कार्यवाहक अध्यक्ष प्रितम रौनियारले निर्माण व्यवसायीहरूले भोगिरहेका समस्याबारे प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो । उहाँले पटक–पटकको मूल्यवृद्धिले व्यवसायीहरू आक्रान्त भएको बताउँदै निर्माण उद्योगमा आपत्काल घोषणा गरी राहत दिन तथा बढ्दो मूल्यवृद्धिअनुसार मूल्य समायोजन गर्दै सबै ठेक्काको समय थप गर्नुपर्ने माग गर्नुभयो । अन्यथा व्यवसायीहरूले ठेक्का त्याग्नुपर्ने अवस्था आउने उहाँको भनाइ छ ।

मूल्यवृद्धिका कारण लागत अत्यधिक बढेको र सामग्री अभावले आयोजनाहरू प्रभावित भएकाले समयमै काम सम्पन्न नगरेको भन्दै व्यवसायीलाई कारबाही गर्न नहुने उहाँले स्पष्ट पार्नुभयो । व्यवसायीहरूका अनुसार पेट्रोलियम पदार्थ, अलकत्रा, सिमेन्ट, छड लगायत निर्माण सामग्रीको मूल्य अप्रत्याशित रूपमा बढिरहेको छ भने क्रसर उद्योगमा देखिएको समस्याले नदीजन्य सामग्रीको अभाव चर्किएको छ ।

ठूला निर्माण व्यवसायीका ठेक्कामा मूल्य समायोजन गर्ने तर साना व्यवसायीलाई विभेद गरिएको, स्थानीय तहबाट जथाभाबी लाइसेन्स वितरण हुँदा गुणस्तरमा समस्या आएको, सम्पन्न कामको भुक्तानी रोकिएको, कमसल सामग्री प्रयोग हुने गरेको तथा रकमान्तर प्रक्रिया झन्झटिलो भएको जस्ता समस्या व्यवसायीहरूले उठाएका छन् ।

लुम्बिनी निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज श्रेष्ठले सम्झौताअनुसार काम सम्पन्न नगरेको भन्दै कारबाही गर्नुअघि निर्माण सामग्रीको सहज उपलब्धता र मूल्य समायोजनसम्बन्धी मार्ग निर्देशन तत्काल लागू गर्नुपर्ने बताउनुभयो । संघका अनुसार रुपन्देहीमा यस वर्ष करिब ३० अर्ब रुपैयाँ बराबरका सरकारी आयोजना सञ्चालनमा रहेका छन् । ती आयोजनामा साना–ठूला गरी करिब डेढ सय निर्माण व्यवसायी संलग्न छन् भने करिब २० हजार मजदुर कार्यरत छन् ।

संघका निवर्तमान अध्यक्ष विनय ज्ञवालीले जिल्ला दररेट निर्धारण समितिले निर्माण सामग्रीको मूल्य वर्षमा दुई पटक समायोजन गर्ने व्यवस्था भए पनि सोअनुसार परिमार्जन नभएकाले व्यवसायी समस्यामा परेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation