विनोद खनाल, बुटवल
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियान अन्तर्गत रुपन्देहीको पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। बुटवलमा शनिबार सम्पन्न भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन गर्दै संगठन विस्तारलाई तीव्र बनाउने निर्णय गरेको छ।
तत्कालीन स्थायी समिति सदस्य उमा भुजेल, चन्द्रबहादुर खड्का असल लगायतका नेतामाथि पार्टी नेतृत्वले निस्काशन गरेपछि विकसित घटनाक्रमसँगै देशका विभिन्न जिल्लाबाट नेता–कार्यकर्ताहरू नयाँ पुनर्गठित नेकपामा आबद्ध हुँदै आएका छन्। सोही अभियानका क्रममा रुपन्देहीमा पहिलो जिल्ला भेला आयोजना गरिएको आयोजकहरूले बताएका छन्।
पार्टीका कार्यालय सदस्य भेषराज भुषालको प्रमुख आथिथ्यता एवं कार्यालय सदस्य वसन्त श्रेष्ठको विशिस्ट आतिथ्यतामा सम्पन्न भेलाले केन्द्रीय सदस्य शरद वलीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिँदै विष्णु तिवारी ‘मुकेश’ को संयोजकत्वमा ४५ सदस्यीय जिल्ला समिति गठन गरेको छ। यसअघिका जिल्ला सदस्यहरूलाई सचिवालयमा समेट्दै आवश्यक सदस्य थप गरिएको जनाइएको छ।
भेलाबाट देवदह, ओमसतिया र रोहिणी क्षेत्रको इन्चार्जमा मदन थारु (जसवन्त), सिद्धार्थनगर नगरपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको इन्चार्जमा शंकर ज्ञवाली, मायादेवी र गैडहवा गाउँपालिकाको इन्चार्जमा अविराम यादव तथा सचिवमा रामवचन यादव चयन भएका छन्।
त्यसैगरी बुटवल उपमहानगरपालिकाको इन्चार्जमा महेन्द्र टण्डन र सचिवमा दीपक पौडेल, कञ्चन गाउँपालिकाको इन्चार्जमा सोमनाथ शर्मा, तिलोत्तमा नगरपालिकाको इन्चार्जमा श्रीधर ज्ञवाली, मर्चवारी गाउँपालिकाको इन्चार्जमा नन्दलाल लोध तथा सियारी गाउँपालिकाको सचिवमा अनवर यादव चयन भएका छन्। सैनामैना क्षेत्रको संगठनात्मक जिम्मेवारी जिल्ला कार्यालयले हेर्ने निर्णय गरिएको छ। यस्तै पार्टिका जनवर्गीय संगठनहरुको समेत जिम्मेवारि तोकिएको जनाईएको छ।
भेलामा बोल्ने नेताहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै जनपक्षीय राजनीतिक शक्ति निर्माण गर्न आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले संगठन विस्तार, वैचारिक स्पष्टता र जनआधारित आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
केन्द्रीय सदस्य शरद वलीको अध्यक्षता तथा सञ्चालन एवं केन्द्रीय सदस्य जया पौडेलको स्वागतमा भेला सम्पन्न भएको थियो।











