ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या : भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरूको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन् ।
साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडि बढेको भए पनि ठेकेदारहरूले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने दाबी गरे ।विगतमा ढिला टेन्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेन्डर आह्वान गरी प्रकृया अगाडि बढाउँदा पनि ठेकेदारहरूका लागि समस्या उत्पन्न भएको उनले जानकारी दिए । उनले भने, ‘टेन्डर गरेर दुई तीन महिनाको समय दिइएको थियो । त्यसमा सम्झौता गर्न आएनन् । सम्झौता गरेपछि एलसी गर्न आएनन् । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्‍यो । सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ । असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आएर वितरण हुनुपर्ने थियो । साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण गर्‍यो । त्यसैले कोरोनाका कारण समस्या भएको होइन ।’मन्त्री भुसालले यो वर्ष विगतभन्दा बढी खेती भएकाले मलको माग पनि बढी भएको बताए । कोरोनाका कारण श्रमशक्ति गाउँमा भएपछि खेती पनि बढेको उनले दाबी गरे । विगतमा किसानले मल अभाव हुँदा सीमाक्षेत्रबाट आफैं ल्याउने गरे पनि यो वर्ष लक डाउनका कारण सम्भव नभएपछि समस्या भएको उनको भनाइ थियो । कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो । दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६/०७७ का लागि आह्वान भएको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार २५—२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation