प्रचण्डलाई ओलीसँग संवाद अघि बढाउन भनेका छौं : श्रेष्ठ

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विभाजन रोक्न दुई अध्यक्षबीच फेरि संवाद गर्नुपर्ने बताएका छन् ।सोमबार बिहान आफ्नै निवासमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई संवादमार्फत अन्त्य गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको बताएका हुन् ।‘हामीले के भन्यौं भने ठूलो मेहनेत गरेर पार्टी एकता गरेको हो । …ख्यालख्यालमै पार्टी फुटको दिशातिर जान हुन्न । हामीले पार्टी एकताको रक्षा गर्न पहल नै गर्नुपर्छ । प्रयत्न नै गर्नुपर्छ । त्यसकारणले अध्यक्ष प्रचण्डले फेरि एकचोटी अध्यक्ष केपी ओलीसँग कुराकानी गर्नुहोस्, बैठक बसौं भनेर बैठक राख्ने नै प्रयत्न गरौं’ उनले भने ।
गत शनिबार प्रचण्ड र केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी भएको थियो । उक्त कुराकानीबारे प्रचण्डले आफूनिकट सचिवालय सदस्यलाई ब्रिफिङ गरेका थिए ।प्रवक्ता श्रेष्ठले आइतबार साँझ आफूहरुसँग भएको ब्रिफिङ पछि अहिलेसम्म अध्यक्ष प्रचण्ड र ओली बीच कुनै संवाद हुन नसकेको पनि बताए ।
ब्रिफिङमा अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीचको संवादमा अध्यक्ष ओलीले अब कुनैपनि कमिटीको बैठक गर्नुको औचित्य नरहेको भन्दै सल्लाहमै औपचारिक रुपमै अलग भएर काम गरौं भन्ने प्रस्ताव राखेको जानकारी गराएका श्रेष्ठले बताए ।
अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई पार्टीका कुनैपनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलगअलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको श्रेष्ठले बताए ।
दुई अध्यक्षबीच भएको उक्त कुराकानीबारे श्रेष्ठले भने :

“अध्यक्ष प्रचण्डले हामीलाई जानकारी दिनुभए अनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको केही काम छैन, बैठक बसेर के गर्ने भनेर भन्नुभयो र बैठक बस्न अस्वीकार गर्नुभयो भनेर सुनाउनुभयो । बैठक किन बस्न काम छैन भन्दा बैठकको निर्णय त मान्दै मान्दिन तपाईहरुले बहुमतले निर्णय गरेर हुन्छ ? केन्द्रीय कमिटीबाट निर्णय गर्नुस, स्थायी कमिटीबाट निर्णय गर्नुस, सचिवालयको निर्णय गर्नुस तर बहुमतले गरेको निर्णय म मान्दिन । भनेपछि तपाईहरुले बैठक गरेर के गर्नुहुन्छ ? यति भन्दाभन्दैपनि तपाईहरुले आफ्नै तर्फबाट बैठक बोलाउनुभयो भने बैठक बोलाउनासाथै म ठूलो अर्को एक्सन लिन्छु त्यसको सामना गर्न तपाईहरु तयार हुनुहोस् । अथवा सल्लाह गरेर अलगअलग होऔं । अब एकैठाउँ बस्न सकिन्न भनेर भन्नुभएको कुरा हामीलाई जानकारी गराउनुभएको थियो ।’
प्रवक्ता श्रेष्ठले पार्टी एकता ठूलो मेहनत गरेर र क्रान्तिकारी उद्देश्यलाई केन्द्रविन्दुमा राखेर गरिएकाले यसलाई अहिले नै विफल हुन र फुटको स्थिति उत्पन्न हुन नदिन सबै नेता कार्यकर्ताले पहल गर्नुपर्ने बताए ।
पार्टीलाई विधि र पद्धतिमा चलाउने र पार्टीको निर्णय सबैले मान्दै कार्यान्वयनमा जाने हो भने पार्टी एकता जोगिने पनि श्रेष्ठले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation