कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक : तीन दिन सबै कार्यालयमा झण्डा आधा झुकाउने

मंगलबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सम्पन्न भएको छ। 
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय आमन्त्रित सदस्य एवं प्रतिनिधि सभाका सदस्य सूर्यबहादुर केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। ‘उहाँको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, उहाँको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ।’ 
कांग्रेसले केसीप्रति सम्मान प्रकट गर्दै कात्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। सँगै कांग्रेसले बुधबार केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। निधन भएको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने लगायत निर्णय बैठकले गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका आमन्त्रित सदस्य, प्रतिनिधि सभाका सदस्य उद्योगपति केसीको सोमबार राति पोखरा  महानगरपालिका– ७ मुस्ताङचोकस्थित आफ्नै निवासमा निधन भएको हो। २०१४ जेठ १० गते जन्मिएका केसी २०७४ को निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधिसभा सदस्य चुनिएका थिए।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation