ओली-प्रचण्ड भेट अनिश्चित !

उत्कर्षमा पुगेको विवाद समाधान गर्न सत्तारूढ नेकपाका नेताहरूले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता हुनुपर्ने माग राखिरहेका छन्‌। तर प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष दाहालबीच भेटवार्ता हुने कुनै टुङ्‌गो लागेको छैन।
पार्टीभित्र विवाद बढेपछि ११ दिनपछि शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको थियो। भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले ‘सँगै जान नसक्ने भन्दै अलग भएर जाने प्रस्ताव गरेको’ ब्रिफिङ अध्यक्ष दाहालले खुमलटारमा आफू निकट नेताहरूलाई सुनाएपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ।
तर, प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी फुटाउने सम्बन्धी विषय जहाँबाट आएको भएपनि त्यसमा सत्यता नभएको बताइसकेका छन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस विषयलाई अन्तर्निहित एउटा पक्ष अर्थात व्यक्तिगत कटुतासहितको व्यक्तिगत विषय बनाउन नहुने उल्लेख गरेका हुन्‌। उनले पार्टीलाई विभाजनमा जान नदिन सोमबार नै अध्यक्ष दाहालले फेरि एकपटक अर्का अध्यक्ष ओलीसँग संवाद गर्नुपर्ने धारणा राखेका छन्।
बालुवाटारमा प्रधानमन्त्री ओलीसँग एक खालको सहमति गर्ने तथा खुमलटार र भैँसेपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको उनले आरोप लगाएका छन्‌। 

‘छलफल भइरहेको छ’
पार्टीभित्रको विवाद समाधान गर्न लिएर विभिन्न तहमा नेताहरूबीच आन्तरिक छलफल भइरहेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्बाङले बताएका छन्‌। 
‘अहिले विभिन्न तहका नेताहरूको छलफल भइरहेको छ, पार्टीभित्रको विवाद सुल्झिन्छ,’ ‘तर, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता हुने निश्चित भइसकेको छैन।’ 
पार्टीभित्रको विवाद चर्किएपछि नेता नेम्बाङ समाधानका लागि सक्रिय भएर लागिपरेको छन्। उनी प्रधानमन्त्री ओली विश्वासपात्र पनि हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation