रुपन्देहीमा उपचारकै क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना कपिलवस्तुका पुरुष र रुपन्देहीकी एक स्वास्थ्यकर्मी महिला छन्।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत ४८ वर्षीय महिलाको सोमबार राती मृत्यु भएको हो। उनलाई गत १८ गते पिसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भैरहवा भीम अस्पतालको आइसीयुमा उपचार भइरहेको थियो।उपचारकै क्रममा सोमबार राती उनको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बताए ।ती महिलालाई दीर्घरोग नभएपनि निमोनियाको समस्या पटक पटक दोहोरिने गरेको शाहले बताए। रुपन्देहीमा यसअघि पनि एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो।सोमबार राती लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लिनिकमा कपिलवस्तुका एक जना संक्रमित पुरुषको मृत्यु भएको छ।कपिलवस्तु नगरपालिका ६ का ७९ वर्षे पुरुषको सोमबार राती मृत्यु भएको अस्पतलाका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।स्वास्थ्यमा समस्या देखिएपछि उनलाइ सोमबार बिहान अस्पताल ल्याइएको थियो। पिसीआर टेष्ट गर्दा संक्रमण देखिएपछि फिभर क्लिनिकको आइसोलेसन वाडमा राखेर उपचार गरिएपनि राती मृत्यु भएको डा गौतमले बताए।