केपी ओली बेइमान रहेछन् : प्रचण्ड

प्रकाशलाई सम्झेर भावुक हुँदै भने, ‘देशका सबै युवायुवती मेरा छोराछोरी हुन्’

नेकपा अध्यक्ष पुष्पकमल दाहालले  अब नयाँ युगको सुरुवात हुने विश्वास दिलाएका छन्। प्रचण्ड–माधव पक्ष नेकपाले विराटनगरमा गरेको विरोधसभामा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले सहिदको बलिदान र हजाराैं वर्षपछि ल्याइएको परिवर्तनलाई जोगाइराख्न राजनीतिक स्थायित्वका लागि कम्युनिष्ट गठबन्धन बनाएको बताए। 

प्रधानमन्त्री केपी ओलीप्रति कटाक्ष गर्दै प्रहसन कमेडी देखाउन र उखान टुक्का भन्न आफूहरू उपस्थिति नभएको उनले बताए। देशलाई राजनीतिक निकास दिन यहाँ आएको भन्दै उनले देशलाई नयाँ युगतिर लैजाने संकल्पमसेत गरे। राजनीतिक स्थायित्वको लागि कम्युनिष्ट गठबन्धन पनि यसैका लागि भएको प्रचण्डले बताए। 

त्यसैगरी कम्युनिस्ट एक हुँदा लहर आएको भन्दै आफूलाई पनि देशमा नयाँ युग सुरु भएको उनले विश्वास भएको बताए। आफूले धेरै अवसर पाएको र आफू भाग्यमानी भएको भन्दै विद्रोह र शान्ति अनि संविधानको नेतृत्व आफूले गरेको र यो गौरवशालीको कुरा भएको उनले बताए। 

आफूले गिरिजासँग विस्तृत शान्ति सम्झौता गरेर शान्ति र संविधानमा योगदान दिएको भन्दै अब सबै श्रमजीवी जनतालाई धेरै अधिकार दिइएको पनि बताए।  

वाम गठबन्धन र पार्टी एकतापछि मजदुर किसानका लागि काम गर्ने भनेको र आफूले यही सपना देखेको उनले बताए। संविधानको चर्चा गर्दै उनले भने, ‘यो देशमा विभेदमा परेका सबैलाई आत्मसम्मान दिने भन्याै, हजारौं सहिदको बलिदानबाट यो संविधान बनेको हो। अहिलेको संविधान पहिलेभन्दा निकै अर्थमा फरक छ।’  

यो संविधानमा सबै अधिकार समावेश भएको र दरबारको संविधानभन्दा यो संविधानमा सार्वभौम अधिकार भएको बताए। 

भाषणको सुरुवातमा संविधान सहिद र बलिदानको चर्चा गरेका प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई प्रतिक्रियावादी एजेन्ट दलाल भएको पनि आरोप पनि लगाए।उनले भने, ‘ओलीले  संसद् विघटन गरेका होइनन्, संविधान विघटन गरेर लोकतन्त्रमाथि हमला गरेका हुन्, नेपाली जनतामाथि ठाडो हमला भएको हो।’ 

भाषणको मध्यक्रममा भने अध्यक्ष दाहाल केहीबेर भावुक बनेका थिए। आफ्ना दिवंगत छोरा प्रकाशलाई सम्झिँदै भने, ‘अब मेरा लागि नेपालका सबै युवायुवती प्रकाश हुन्।’ 

प्रधानमन्त्री ओलीप्रति कडा टिप्पणी गरिरहेका उनले आज पनि त्यही सहिदले ल्याएको परिवर्तनमा प्रतिबद्ध रहेको भन्दै देश बनाएर मर्न चाहेको पनि बताए। भने,  ‘केपी ओली बेइमान रहेछन्। सामान्तीका अगाडि लागेर र दलाल पुँजीपतिसँग ओली लागे।’

​आफूले अन्तर्वार्तामा भनेको कुरा झिक्दै उनले केही प्रश्नको उत्तरसमेत त्यही भीडमा खोजेका थिए। भने, ‘मैले छोराछोरीलाई पढ्न विदेश पठाइनँ, मेरो दोष हो? मेरा छोराछोरी जंगल पसे, छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा लगाएँ मेरो दोष हो त? साथै ओलीले हनुमानहरूलाई मात्र छोराछोरी बनाएका पनि आरोप लगाए। 

अढाइ सय वर्ष राजतन्त्रलाई पराजित गरेको र श्रीपेच झिकेर फुटबल खेलेको भन्दै उनले राजतन्त्रलाई जंगल पठाएको पनि उनले बताए। ‘मैले वाम गठबन्धन गरेर ओलीलाई भनेको थिएँ, समाजवादमा देशलाई लैजाऊँ भन्ने म आफैं हो,’ दुर्भाग्य तीन वर्ष नहुँदै उनले गरेको प्रतिगमनको खिलाफमा जनतालाई तपाईं उठ्नुहोस् भन्न पनि मै आउनुपरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation