नेकपा ओली समूहको लुम्बिनी अध्यक्षमा गिरी, जिल्लाको नेतृत्व यस्तो छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले लुम्बिनी प्रदेशमा नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी विभाजन भएसँगै ओली समूहले पार्टी कमिटीलाई पुनर्गठन गर्दै नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

ओली समूहको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा लीला गिरी चयन भएका छन् । उनी लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री समेत हुन् । बिहीबार बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य समेत रहेका गिरीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । पार्टी विभाजन हुनुअगाडि पूर्व सभामुख ओनसरी घर्ती अध्यक्ष थिइन् । उनी प्रचण्ड–नेपाल समूहमा हाल पनि अध्यक्ष छिन् ।

ओली समूहको बैठकले जिल्ला तहमा पनि जिम्मेवारी तोकेको छ । रूपन्देहीमा शिव सुवेदी संयोजक, तेजेन्द्र केसी सहसंयोजक र अनुप बराललाई सचिवको जिम्मेवारी दिइएको छ ।

कपिलवस्तुमा झविलाल पोखरेल संयोजक, डम्बर शर्मा सह–संयोजक र धर्म भुसाल सचिव तोकिएका छन् ।

दाङमा हुकुमबहादुर बस्नेतलाई संयोजक र मनोहर बुढाथोकीलाई सचिव तथा बाँकेमा सूर्य ढकाल संयोजक, किस्मत कक्षपति सह–संयोजक र प्रमोद धिताल सचिव तोकिएका छन् ।

त्यस्तै बर्दियामा लालबहादुर श्रेष्ठलाई संयोजक, शालिकराम अधिकारीलाई सह(संयोजक र पदम ढकाललाई सचिवको जिम्मेवारी दिइएको छ ।

गुल्मीमा संयोजक मधुकृष्ण पन्त, सह-संयोजक बालसिंह काउचा र सचिव धर्मबहादुर विकलाई तोकिएको छ ।

अर्घाखाँचीमा चेतनारायण आचार्यलाई संयोजक र तेजबहादुर रायमाझीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

पाल्पामा संयोजकमा नारायणप्रसाद आचार्य र सचिवमा ओमबहादुर घर्ती तथा नवलपरासी पश्चिममा दीपेन्द्र अधिकारीलाई संयोजक चयन गरिएको छ । प्युठानमा तुलसीराम शर्मालाई संयोजक तोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation