प्रधानमन्त्री ओलीलाई खनाल–नेपाल समूहको अल्टिमेटम– जेठ २ मा नफर्किए सामूहिक राजीनामा

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)भित्र विग्रहले उग्ररूप लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहमतिमा नआएको र अदालतको फैसला (२०७७ फागुन २३)अनरूप पार्टी चलाउन तयार नभएको भन्दै वरिष्ठ झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले सामूहिक राजीनामाको तयारी गरेका छन् । शनिबार साँझसम्म बसेको सांसदहरूको सामूहिक बैठकले राजीनामाको तयारी गरेको यज्ञराज सुनुवारले जानकारी दिए ।

“प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार साँझसम्मको समय दिएका छौँ । हामी हदैसम्म लचिलो भएर वार्ता, छलफल गरेकै हो । उहाँ २०७५ जेठ २ मा फर्कन तयार हुनुभएन,” उनले भने, “फ्लोर क्रस गर्नुभन्दा सामूहिक राजीनामा नै विकल्प हो ।”
उनले आज दिनभर प्रधानमन्त्रीको बाटो हेरेर साँझसम्म निर्णय लिने बताए । “अहिले नै हामीले हस्ताक्षर गरिसकेका छैनौँ । सामूहिक हस्ताक्षर गर्ने कुरा भएन । प्रत्येक सांसदले छुट्टाछुट्टै बुझाउने हो,” उनले भने, “त्यसको तयारी गरेका छौँ ।”
सांसद झपट रावलले प्रत्यक्षतर्फको २२ जना र समानुपातिक केही सांसदले राजीनाको तयारी गरेको बताए । “अधिकतम ४३ जनासम्म हुनसक्छ होला, नभए कम्तिमा ३० जनासम्मको राजीनामा आउँछ,” उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation