पूर्वप्रधानमन्त्रीदेखि खेलाडीसम्मलाई पदक र विभूषण

सरकारले हरेक वर्ष संविधान दिवसको दिन प्रदान गर्ने गरेको मानपदवी र विभूषण यो वर्ष ९ सय ३ जनाले पाउने भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका ९०३ जनालाई मानपदवी,अलंकार र पदकद्वारा सम्मान गर्नुहुने भएको हो ।

सबैभन्दा ठूलो मानपदवीको रुपमा रहेको नेपालरत्न पूर्वप्रधानमन्त्री तथा काँग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ । त्यस्तै, दोस्रो ठूलो मानपदवीको रुपमा रहेको राष्ट्र गौरव पूर्वप्रधानमन्त्री झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्णसमशेर राणालाई प्रदान गरिनेछ ।

अर्को महाउज्ज्वल राष्ट्रदीपबाट ६ जना विभूषित हुने भएका छन् । यो पदकबाट विभूषित हुनेमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा,राजनीतिज्ञ स्व. तुल्सीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह र मोहनचन्द्र अधिकारी,प्रजातान्त्रिक आन्दोलनका योध्दा स्व. दुर्गानन्द झा र स्वरसम्राट नारायण गोपाल रहनु भएको छ । त्यसैगरी, चार जना राजनीतिज्ञलाई सुप्रसिद्ध प्रबल जनसेवा प्रदान गरिने भएको छ । प्रदीप नेपाल,स्व. पोस्टबहादुर बोगटी,स्व.मार्शलजुलुम शाक्य र पीएल सिंहलाई सुप्रसिद्ध प्रबल जनसेवाबाट सम्मान गरिने छ

त्यस्तै, सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्जवल कृतिमय राष्ट्रदीप मानपदवी प्रदान गरिने छ । न्यायाधीश श्रेष्ठ प्रतिनिधिसभा विघटनविरुद्धको मुध्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा समेत हुनुहुन्थ्यो। सर्वोच्चकै न्यायाधीश अनिलकुमार सिन्हा,सपना मल्ल र तेजबहादुर केसीलाई प्रसिद्ध प्रवल जनसेवाश्रीद्वारा सम्मान गरिने भएको छ । महान्यायाधिवक्ता खम्बबहादुर खाती र काँग्रेसका स्वर्गीय नेता चक्र बाँस्तोलालाई समेत प्रसिद्ध प्रवल जनसेवाश्री प्रदान गरिने छ।

यसैगरी बाग्मती सफाइ अभियन्ता माला खरेल,वरिष्ट कार्टुनिस्ट रविन सायमी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ,गायिकाहरू देविका प्रधान लगायत पनि विभूषित हुने भएका छन् ।

राष्ट्रका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई प्रदान गरिने मानपदवी आलोचितसमेत हुने गरेको छ। पहुँच र प्रभावका आधारमा पदक वितरण गर्ने गरिएको भन्दै कतिपयले पदक अस्वीकारसमेत गर्ने गरेका छन् । यसपटक पनि त्यस्तै गुनासाहरु सार्वजनिक भैरहेका छन् । कार्टुनिष्ट रविन सायमी र पत्रकार हरिबहादुर केसी र नारायण अमृत ले पदक बहिष्कार गर्ने जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation