गठबन्धनमै कुरा नमिल्दा अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन

काठमाडौं ।
अझै दुई दिनसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको छ। सत्ता गठबन्धनका दलहरूले आन्तरिक तयारी नसकेका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको हो।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भए पनि दलहरूले सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् गठनमा ढिलाइ हुने देखिएको छ। सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादी का केन्द्रीय सदस्य विरोध खतिवडाले पार्टीका आन्तरिक तयारी नपुगेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन दुई दिन जति लाग्ने बताए।

सत्तारुढ अर्को दल जनता समाजवादीका नेता मोहम्मद इश्तियाक राईले पनि पार्टीको आन्तरिक तयारी नसकिएकाले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लाग्न दुईरतीन दिन लाग्ने बताए। ‘कांग्रेसको आन्तरिक विवाद कायमै छ, उसको विवाद टुंगो लागेपछि मात्र अरु पार्टीको मन्त्रीको टुंगो लाग्ने हो’, राईले भने, ‘कांग्रेसले कुन–कुन मन्त्रालय पाउछ त्यसपछि अरुको टुंगो लाग्छ।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको साढे दुई महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। जसपाले दल विभाजनमा सहज हुने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा जाने मन्त्रीको टुंगो नलगाउने अडान राखेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation