काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा शानदार सुरुवात गरेको छ।
शृंखलाअन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक सय १९ रनले पराजित गर्यो। एक सय ४७ रनको लक्ष्य पाएको कतारले ११ ओभर ५ बलमा सबै विकेट गुमाएर २७ रन मात्र जोड्यो। कतारलाई सस्तोमा समेट्न नेपालकी रुविना क्षेत्रीले तीन तथा कविता कुँवर र सरिता मगरले दुई दुई विकेट लिए।
त्यसअघि कतारको दोहामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको थियो।
नेपालका लागि इन्दु बर्माले अर्धशतकीय इनिङ खेलिन् । ४७ बलमा ५ चौका हिर्काएकी इन्दुले सर्वाधिक ५५ रन बनाइन् । उनी रिटायर्ड हर्ट भएकी थिइन्।
यस्तै सीता राना मगरले ३९ रनको योगदान गरिन् भने सरिता मगरले २१ रन बनाइन् ।
विश्वकप छनोटका लागि ग्लोबल छनोट खेल्नु अघि नेपालले कतारसँग तीन टी–ट्वान्टी शृंखला खेलेको हो।