नेकपा माओवादी केन्द्रले मंसिर ४ गते शनिबार देशभर वडा अधिवेशन गर्दैछ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट शनिबार बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।
सोही क्रममा रुपन्देहिका स्रोह्र पालिकाका १०९वटै वडामा एकै पटक अधिवेशन हुने भएको छ । पार्टीको निर्देशनअनुसार तोकिएको समयमै सबै वडामा अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको माओवादी केन्द्रका रुपन्देहि संयोजक निर्मल जिसिले जानकारी दिए । उनका अनुसार रुपन्देहिका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिने छ ।
सर्वसहमतिमा नेतृत्व चयन नभएको अवस्थामा निर्वाचन प्रक्रियाबाट निर्वाचन गरिने उनले बताए । रुपन्देहिमा माओवादी केन्द्रको सदस्यको संख्या करिव १३ हजार पुगेको छ । माओवादीले सदस्यता नवीकरणको काम सकेर वडा र पालिका अधिवेशनको तयारी गरेको हो ।
राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले निर्धारित समयभित्रै उप–महानगरपालिका र सबै पालिकामा पार्टी सदस्यता नवीकरण गराएको पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहि जिल्ला इन्चार्ज राम प्रसाद बन्जाडेले बताए । उनका अनुसार यसअघि रुपन्देहिमा माओवादी केन्द्रका करिव ८ हजार जना पार्टी सदस्य थिए । अहिले त्यो संख्या बढाएर १३ हजार पुर्याइएको हो ।
इन्चार्ज राम प्रसाद बन्जाडेले पछिल्लो समय पार्टीमा युवा, महिलासहित उत्पीडित समुदायको आकर्षण बढेको बताए ।