कार्यकर्ताले बोक्नुपर्ने झण्डा गैँडालाई किन बोकाइयो ?

English English Nepali Nepali

यो वर्ष धेरै नै कुम्भ मेलाहरूको संयोग परेको छ । हाम्रो जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने यस्ता मेलाको चर्चा नगरी बस्न सकिएन । बनारसको हिन्दु सम्मेलन, संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गरेको विश्व खाद्य प्रणाली सम्मेलन, ग्लास्कोको जलवायु परिवर्तन (कोप २६) सम्मेलन लगायतका अन्य ठूला साना मेलाहरू हाम्रो जीवनमा प्रभाव पार्ने महत्त्वपूर्ण बाह्य मेला थिए र यी भइसके । यीसँगै केही नेपाली राजनीतिको केन्द्रमा रहेका पार्टीहरूको महाअधिवेशन नामका कुम्भ मेलाहरूको साइत यो वर्ष नै जुरेको छ ।

यसमध्ये सबैभन्दा चर्चित एमाले पार्टीले गत महिना गोदावरीमा विधिविधान मेला गरेको थियो र यही मंसिर १० देखि १२ सम्म नारायणघाटमा नेता छान्ने मेला मञ्चन गर्दैछ । यसको लगत्तै नेपाली काँग्रेस र त्यसपछि माओवादीका यस्तै मेला हुँदैछन् । यस्ता ठूला–साना मेला अझै अरू बाँकी छन् । तिनको पनि समय भएसँगै चर्चा गरौला ।

कुरा गरौँ एमालेको मेलाको । लगभग दुई तिहाइको नेकपा सरकार एक आपसका कुण्ठा, दम्भ र अहंकारले ढालेको केही महिनापछि आ– आफ्ना घरजम गरेका पार्टीमा भएको बिग्रहले एमाले तलदेखि माथिसम्म फुटेको छ । यो फुटको मूल कारक अन्ततः अरू केही नभएर यसका आफ्नै नेताको एकलौटी हठ भएको अब घामजस्तै छर्लङ्ग भैसकेकोे छ । तर, गोदाबरीदेखि नारायणघाट पुग्ने बेलासम्म पनि यो सत्य स्वीकार गर्ने छाँट देखिएको छैन ।

संविधानको मर्म नै धरासयी बनाउने गरी गरिएको निर्वाचित प्रतिनिधिसभा दुईपटक खारेज गर्ने हठ हिटलरको भन्दा कम थिएन । भलै यो कुरा हिटलरले जस्तै सोचबिचार गरेर असल नियतले नै गरिएको थियो भने पनि यो तरिका कुनै पनि अर्थमा यसरी अपेक्षित थिएन । लहडमा गरिएको यो कर्मको परिणाम पनि भविष्यमा हिटलर र नाजी पार्टीकै जस्तो हुँदैन भन्ने के आधार छ ?

यस सन्दर्भमा मात्र योमेलाको चर्चा गर्नु बाञ्छनीय छ । यसको सुरुआत भने यो हिटलरी दम्भको प्रभावले आज के भैरहेको छ भन्नेबाट गर्नुपर्ला ।

सात दशकदेखिको बलीदानी संघर्षलाई झण्डै असफल बनाएका अक्षम र निकम्मा नेताहरूले जनदबाबमा संविधानसभाका सांसदलाई ल्याप्चे लगाउन सिकाएर संसदीय लोकतन्त्रको संविधानमा गणतन्त्रको लेपन लगाएर प्रस्तुत गरे । यसमा रहेका विमतिका बाबजुद भएको निर्वाचनले स्थिरता आउने अपेक्षा बहुसङ्ख्यक नेपालीले राखेका थिए । निर्वाचन भयो र परिणामले नेकपाले दुईतिहाई पायो । तर, यसको दम्भ छचल्किन धेरै समय लागेन ।

भनिन्छ ‘छिटो जान छ भने एक्लै जाने, टाढा जान छ भने सँगै जाने ।’ अहिले एमालेमा देखिएको नियतिले यसको नेतृत्वले पहिलो बाटो रोजेको प्रष्ट छ । यस्तो बाटो रोज्नेले लोकतन्त्रको दुहाई दिँदै यसैको हुर्मत लिने कुरा कुनै नौलो भएन । छिटो जान खोज्दा भित्र्याएका दुःख धेरै छन् । सबैभन्दा ठूलो त फेल नभएको स्वाङ पार्दै कक्षा दोहोर्‍याउन हतार–हतार यो मेला भर्ने सामन्ती हठ गर्नु परेको छ ।

स्थिर सरकार पाउने जनअपेक्षाको मर्ममा ४० महिना नबित्दै गम्भीर प्रहार भयो । यहीँबाट सुरु भएको शृङ्खलाबद्ध सेटिङले एक अर्कालाई ठेगान लगाउन गरिएको जालझेल छताछुल्ल भएको छ । यो क्रम अझै रोकिएको छैन । यसमा पार्टी फुट र संविधान फालेको प्रमाणपत्र थमाउने न्यायमूर्ति नामका मठाधीश मात्र हैन, अहिले सेटिङ बिग्रेर समग्र समाज नै भाँडभैलोमा फसेको छ । यसको नेपाली राजनीतिमा र यसैको प्रभावले समाजमा देखिएको भाँडभैलो भन्दा एमालेकोे आन्तरिक भाँडभैलो कम रोचक छैन ।

आफ्नै कुण्ठाले बनाएको घाउ पुरिएको देखाउने बाध्यताले होस् वा सर्वसम्मत देखाएर आन्तरिक लोकतन्त्रको हुर्मत लिन होस् १० भाइको तितर–बितरसँगै अहिले एमाले सर्वसम्मत भएको छ । हुन त लोकतन्त्र आफैँमा सहकार्यको सम्मान गर्ने संस्कृति हो । यसमा असहमत हुनुपर्ने केही छैन । तर, सर्वसम्मतको दुहाई टिकेप्रथाको उन्नत रूप हो । किनकि साम, दाम दण्ड भेदले सर्वसम्मति खरिद गर्ने हैसियत राख्छ । तर, के भुल्नुहुँदैन भने यो हैसियतले यस्ता खरिद बिक्री भएका नेता तथा कार्यकर्ताको औकात भने सधैँ देखाउँछ ।

भनिन्छ ‘छिटो जान छ भने एक्लै जाने, टाढा जान छ भने सँगै जाने ।’ अहिले एमालेमा देखिएको नियतिले यसको नेतृत्वले पहिलो बाटो रोजेको प्रष्ट छ । यस्तो बाटो रोज्नेले लोकतन्त्रको दुहाई दिँदै यसैको हुर्मत लिने कुरा कुनै नौलो भएन । छिटो जान खोज्दा भित्र्याएका दुःख धेरै छन् । सबैभन्दा ठूलो त फेल नभएको स्वाङ पार्दै कक्षा दोहोर्‍याउन हतार–हतार यो मेला भर्ने सामन्ती हठ गर्नु परेको छ ।

यो कुरा, ‘कोदो त घरैमा छ, तेरोमा रातो छ कि ?’ भन्दै बेसाहाका लागि रातभर गाउँ चाहार्ने मुखियाको कुण्ठा भन्दा कम छैन । यस्तो नहोस् पनि किन ? मामाको धनमा फुपूको श्राद्ध गर्न पल्केको भान्से, कोठे, हुक्के बैठकेहरू यस्तो कक्षा दोहोर्‍याउन उक्साउँदै अघि पछि लागेकै छन् । बाको मस्कट याने बुख्याचासँग फोटो खिचाएकै छन् ।

यो मेलाका अरू केही थप विशेषता पनि छन् । भोटका लागि आफूलाई खाँटी कम्युनिष्ट भनेर चिनाउन बाध्य एमाले नेतृत्वले झण्डा बोकाउन भने लोपोन्मुख गैँडा रोजेको छ । सधैँ मजदुरले उचालेको झण्डा गैँडाको जिम्मा लगाउने कुरा सोची बिचारी गरेको निर्णय होला । यो कम्युनिष्ट विरासत बोकेको पार्टीको नेतृत्वकै हठका कारण गैँडाजस्तै लोप हुने तयारी त हैन ? कि यो साङ्केतिक रूपमा जंगली पार्टी बनाउने कसरत हो ?

के यो गैँडालाई झण्डा बोकाएर यसको नेतृत्व यही झण्डा बोक्ने गैँडाजस्तै जब्बर र असहिष्णु हुनेछ भन्ने देखाउन खोजिएको हो ? अझै प्रष्ट भैसकेको छैन । तर, धेरैलाई चासो भएको छ । जे होस्, मानिस जाति मात्रको सुख र देशको मात्र समृद्धि हुने कुरा सम्भव नदेखेको हो भने अलि फरक कुरा, नत्र ‘आइ लभ यू केपी बा’ भन्ने बा (नर) सेनाको हातमा यो झण्डा थमाइदिएको भए धेरै हिसाबले उपयुक्त हुने थियो होला । कम्तीमा कपट त अलि कम देखिन्थ्यो ।

जे भए पनि यो पार्टीको नेतृत्व भने वर्गीय पक्षधरताबाट विमुख भएको र नेपाली समाज उन्नत बनाउने मूल जिम्मेवारीबाट पलायन भएको हो भन्न अब प्रमाणपत्र थमाउनै पर्दैन । ग्रिगोरी पोतेम्किनले क्याथेरिन द्वीतीयलाई खुसी पार्न बाहिरबाट हेर्दा योजनाबद्ध सहरजस्तो पोतेम्किन गाउँ बनाएजस्तै यसले सुझाएको समृद्धि संस्कृति यसका अकाट्य प्रमाण हुन् । यी सबै संयोग जस्ता देखिने, तर नियोजित प्रवृत्तिले एमाले झुण्ड बितरिएको प्रष्ट हुन्छ । यो कुरा त १० भाइमध्येका एकले अध्यक्षको उम्मेदवारी दिन पार्टी कार्यालयको एउटा कोठासमेत नपाउनुले सर्वसम्मति यो दिइएन होला किन नभन्ने ?

अहिले फेरि घाटैमा जाऊँ ।

योमेला त्रिवेणीमा लाग्नुपर्ने थियो, किन नारायणघाटमा राखियो होला ? यो पंतिकारलाई जिज्ञासा छ । किनकि त्रिवेणी नामले नै तीनवटा खोलाको संगम हो । अहिले पुनर्गठित भनिएको एमालेमा अहिले मुख्य तीनवटा खहरे मिसिएका छन् । फरक–फरक तीन रगंका यी खहरे मिलेर बन्ने रंग कस्तो होला, हेर्न त बाँकी नै छ ।

हुन त बोलीचालीको भाषामा घाट लैजानु भनेको यसको इहलीलाको पूर्व तयारी हो । यदि यो पार्टीको ४३ वर्षे इतिहासमा गोदावरीलाई तुल्सीको मठ सम्झिने हो भने यो घाटमा हुने भेलाले झनै बोझिलो अर्थ राख्छ । यसो भनिरहँदा यो पङ्तिकारलाई एमाले पार्टी बिगार्न खोजेको बात नलागोस् । किनकि यो पार्टी असल भए नेपाली समाजको उन्नतिको ढोका खोल्न सकिन्थ्यो कि भन्ने लागेकाले मात्र यी कुराको चर्चा गरिएको हो ।

बरु अहिलेको एमाले नेतृत्व बातको रफ्फू भर्न त खप्पिस छ । यस्तो रफ्फु चक्करबाट पार्टी र सरकार नचलेको मात्र हो र अब पनि चल्दैन । मनको लड्डु जस्ता सपना देखाएकोमा धेरै दुविधा नगरौँ । समाजवादको जग हाल्न स्थिर सरकारको अनुमोदन भएको ऐतिहासिक अवसरलाई लत्याउँदै दुई–दुई पटक भएको जननिर्वाचित प्रतिनिधिसभाको संविधानको मर्म र भावना विपरीत गरिएको असंवैधानिक विघटन कमजोरी थियो भन्नेसम्म स्वीकार नगर्ने एमाले नेतृत्वले स्वाभिमानी नेपालीको लोकसम्मतिको नेतृत्व गर्न सक्दैन । रातारात फेरिएछ भने त्यहीबेला कुरा गरौँला ।

यो पार्टीलाई पाटी हुन दिन नचाहने एमालेजनले यो घाटमा यी सबै सन्दर्भमा मनन् गरुन् । सँगै यसको गन्तव्य, बाटो र उपयुक्त साधनको जोरजाम कसरी हुन्छ ? प्रविधि, प्रकृति र प्रवृत्तिमा आएको फेरबदलको सन्दर्भमा नेपाली विशेषताको उन्नति यात्रा के हो र कसरी सम्भव छ ? यसको खोजी गरुन् ।

यी सबै कुराले हामीले बेहोरेको लोकतन्त्र भनिने नेतातन्त्रको कुरुप पक्ष फर्केर हेर्न बाध्य पार्छ । लोकतन्त्र अहिले हात्ती छामेजस्तो भएको छ । जसले जे छाम्यो, त्यही हात्ती भन्ने मनोरोगबाट ग्रसित राजनीतिक नेतृत्वले लोकतन्त्र जोगाउन सक्छ कि सक्दैन, बहस अपरिहार्य भएको छ ।

सँगै, राजनीतिको मूल प्रवाहको नेतृत्वमा देखिएको अहंकार, दम्भ र निकम्मापन आम नेपालीलाई सधैँका लागि परनिर्भरताको साङ्लोमा बाँध्ने, भौतिक विकासको सपना बाँडेर प्रकृतिको अति दोहनबाट केही मुठ्ठीभरका लागि समृद्धिका भित्र्याउने लहड जारी छ । यस्तो सपना बाँड्ने रजौटाहरू नाङ्गै छन् । त्यसमा एमालेका अरू कोही भन्दा कम छैन भन्न धेरै घोत्लिनुपर्दैन । तर, यो प्रवृत्तिमा प्रश्न उठाउने जो कोही पनि एमाले विरोधीको कित्तामा दरिएका छन् । यो हठले इतिहासको गर्तमा पुरिएको हिटलरको नाजी पार्टी जस्तो बनाउन एमालेलाई कसैले रोक्न सक्दैन । तर, यस्तो कुण्ठित नेतृत्वको भर परेर आफ्नै र आफूलाई पत्याउनेहरूको आस्थामा खेलवाड गर्न पुगेका हजारौँ नेता तथा कार्यकर्ताप्रति अयोध्या सम्झँदै ‘राम राम’ भन्नबाहेक के पो गर्न सकिएला र ?

यो पार्टीलाई पाटी हुन दिन नचाहने एमालेजनले यो घाटमा यी सबै सन्दर्भमा मनन् गरुन् । सँगै यसको गन्तव्य, बाटो र उपयुक्त साधनको जोरजाम कसरी हुन्छ ? प्रविधि, प्रकृति र प्रवृत्तिमा आएको फेरबदलको सन्दर्भमा नेपाली विशेषताको उन्नति यात्रा के हो र कसरी सम्भव छ ? यसको खोजी गरुन् । योसँगै खानाका लागि खेतीपाती, किसानको जीवन पद्धति, माटो र प्रकृतिको स्वस्थ, अर्थतन्त्र र राष्ट्रियतासँग जोडिएका सैयौँ सवाल कसरी सम्बोधन हुन्छन्, यसबारे चर्चा गरुन् ।

यी कुराको जवाफ नखोजे विधिविधानका हिसावले गोदाबरीमा इहलीला भएको यसको ४३ वर्ष पुरानो विरासत यो घाटमा खरानी हुने पक्का छ । यो बौरिने आस पालेर भेला भएका इमानदार एमालेजनले यो पार्टी घाटमा पुर्याएर फर्कदै गर्दा यी सबै कुराको मनन् गरुन् ।

तर, यसबाट हार खाने वा हतासिनुपर्ने भने केही छैन । किनकि, प्राचीन ग्रिसको लोककथाको फोनिक्स चराजस्तै खरानीबाटै बौरिन भने इमानदार र जुझारु कार्यकर्तालाई कसैले रोक्न सक्दैन ।
रातोपाटि बाट साभार गरीएको ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2022 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation