![](https://ujyaalopost.com/wp-content/uploads/2021/12/SAVE_20211216_142934.jpg)
नेतृत्व दाबी गर्नेको संख्या बढेपछि नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अधिवेशनले पदाधिकारी टुंगो लगाउन सकेको छैन । अध्यक्षमा गुल्मीका सुदर्शन बराल सर्वसम्मत भएका छन् । अन्य पदाधिकारी पदका आकांक्षी बढेपछि छनोट प्रक्रिया रोकिएको छ । आकांक्षी बढ्दै गएको र नेताले आफ्ना पक्षमा तीव्र लबिङ गरेपछि पदाधिकारी चयन रोकिएको हो । अन्य पदाधिकारी टुंगो नलाग्दा अध्यक्षको नाम पनि सार्वजनिक हुन सकेको छैन । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय कमिटी चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाम टुंगो लगाएको छ । तर, अन्य पदाधिकारीको टुंगो नलागेकाले अध्यक्षमा प्रदेश समिति र केन्द्रीय नेतृत्वबीच बरालको विषयमा सर्वसम्मत सहमति भए पनि लिखित निर्णय नभएको एक नेताले बताए ।