टोपबहादुरको यसरी एकपछि अर्को जाल

नेपालीमा एउटा उखान प्रचलित छ – नयाँ जोगीले धेरै खरानी घस्छ । माओवादी छोडेर भर्खर-भर्खर एमाले बनेका पूर्वमाओवादी नेताहरुमा यो उखान ठ्याक्कै मेल खान्छ ।

मन्त्रीको लोभमा भएभरका कार्यकर्ता माओवादीमै छोडेर एमालेमा मिसिएका रामबहादुर थापा,टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरु अध्यक्ष केपी ओलीलाई रिझाएर चितवन महाधिवेशनबाट पदाधिकारीमा पुग्न सफल पनि भए ।

पचासौँ वर्ष एमालेमा लागेर कपाल फुलाएका पाका नेताहरुलाई पछि पार्दै हिजोका नवप्रवेशीहरुले ठूलो पद हात पार्नुको कारण उनीहरुमा विशेष क्षमता भएर होइन । अध्यक्ष ओलीको ‘इशारामा नाचेका’ कारण त्यो अवसर प्राप्त भएको स्वयं एमाले नेताहरु बताउँछन् ।

ओलीको प्रशँसामै आफ्नो राजनीतिक भविष्य सुरक्षित देख्ने पूर्वमाओवादी नेताहरुमध्ये पनि टोपबहादुर रायमाझी सबैभन्दा अगाडि छन् । सार्वजनिक मन्च भेट्ने बित्तिक्कै उनी ओलीको ‘चाकडी’ गर्न थालिहाल्छन् ।

रायमाझीले धेरै पटक सार्वजनिक रुपमै आफू विचार,सिद्धान्त र राजनीति मिलेर भन्दा पनि ओलीकै कारण एमालेमा लागेको बताइसकेका छन् । ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरू एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको उनको तर्क रहँदै आएको छ ।

हुँदाहुँदा अब रायमाझीले ओलीलाई मदन भण्डारीसँग तुलना गर्न थालेका छन् । पार्टीको जिल्ला अधिवेशन उद्घाटनका लागि गृहजिल्ला अर्घाखाँची पुगेका उनले एमालेले मार्गदर्शक सिद्धान्त मानेको जनताको बहुदलीय जनवाद (जबज) का प्रतिपादक भण्डारीलाई ओलीसंग तुलना गरेका हुन् ।

रायमाझीले धेरै व्यक्तिहरूले एमालेको नेतृत्व गरेका भए पनि मदन भण्डारी र केपी ओलीको मात्र चर्चा भएको भन्दै ओलीलाई भण्डारीसँग तुलना गरेका हुन् । ‘केपी ओली लामो समय जेल बस्नुभो,’नेता रामाझीले भने, ‘पछि जेलबाट निस्किए पनि मूल नेतृत्वमा रहनुभएन । तर,चर्चा कि मदन भण्डारीको छ कि केपी ओलीकै छ ।’

रायमाझीले प्रमुख प्रतिपक्षीका विरुध्द आम गठबन्धन बन्नु सत्ताधारीको हारको उपज भएको पनि बताए । कांग्रेस महाधिवेशनमा समेत ओलीको पक्षमा नाराबाजी भएको भन्दै रायमाझीले एमालेविरुद्ध चौतर्फी घेरावन्दी भए पनि आफूहरू ठीक ठाउँमा रहेको दाबी गरे ।

‘सत्तापक्षी पार्टीको अधिवेशन छ,’ नेता रायमाझीले भने, ‘तर चर्चा ओलीकै हुन्छ,भनेपछि देश एमालेकै वरिपरि घुमिरहेको छ ।’

हुन् त, पद प्राप्तिका लागि जस्तोसुकै सम्झौता गर्न पनि पछि नपर्ने रायमाझीमाथि आरोप छ । माओवादी शान्ति प्रक्रियामा आउँदाताका उनी त्यतिबेलाका नेता डा. बाबुराम भट्टराईको निकट थिए । भट्टराईको कोटाबाट पटक-पटक मन्त्री पनि बने । भट्टराईले माओवादी छोड्दा उनले पनि खुट्टा उचालिसकेका थिए पनि भनिन्छ । तर, प्रचण्डले मन्त्री बनाउने आश्वासन दिएपछि माओवादीमै बसेको त्यतिबेला चर्चा थियो । जे होस्, माओवादीमा पटक-पटक अवसर पाउने थोरै नेतामध्ये रायमाझी पनि एक हुन् ।

पछिल्लो समय रायमाझी एमालेमा लाग्नुको पछाडि पनि मन्त्री पद नै जोडिएको छ । तत्कालीन नेकपामा प्रचण्ड-माधव र ओली दुई समूहबीच संघर्ष उत्कर्षमा पुग्दा उनी लामो समय तटस्थ बसेका थिए । प्रतिनिधिसभा विघटनपछि नेकपामा आएको विभाजनमा आफ्नो समूहको क्षति रोक्न ओलीले मन्त्री बाँडेपछि मात्रै रायमाझीसहित लेखराज भट्ट,मणि थापा,प्रभु साहलगायतका पूर्वमाओवादी नेताहरु एमालेमा जाने निधोमा पुगेका थिए ।

त्यसैले होला,एमालेकै कतिपय पुराना नेताहरुले अहिले पनि रायमाझीको भर गरेका छैनन् । ‘नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, अहिले अध्यक्षलाई उहाँले गरेको प्रशँसा त्यस्तै हो’, एक नेताले भने, ‘तर उहाँको भर छैन कतिखेर कहाँ पुग्नुहुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation