बुटवल, पुस २४ / नेकपा एमाले रुपन्देहीको नवौं अधिवेशनको बन्दसत्रबाट तेजेन्द्र केसीको अध्यक्षतामा नयां नेतृत्व चयन भयको छ। शुक्रवारदेखि भैरहवामा जारी अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भन्दै अध्यक्ष मण्डललाई नाम प्रस्ताव गर्ने जिम्मेवारी दिएको थियो।
सोहि अनुरुप अध्यक्ष मण्डलका तर्फबाट केन्द्रिय सदस्य एवं निवर्तमान अध्यक्ष शिवराज सुवेदीले अध्यक्षतामा तेजेन्द्र केसीको नाम बन्दसत्र हलमा प्रस्ताव गरेका थिए। त्यस्तै उपाध्यक्षमा यसअघिको जिल्ला कमिटिका सचिव जागेश्वरदेवी चौधरी र सचिवमा यज्ञ गैरेको नाम प्रस्ताव गरेका छन्। त्यसैगरि दुईजना उपसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थीको नाम प्रस्ताव गरिएको एमाले श्रोतले बताएको छ।
प्रस्तावित नामहरुलाई बन्दसत्रले समर्थन जनाएपनि प्रस्तावमा असहमत हुनेहरुलाई उम्मेदवारी दर्ता गर्ने बाटो खुल्ला रहेको श्रोतले जानकारी दियो। जिल्ला अध्यक्षमा केसीसंगै यसअघिको कमिटीका उपाध्यक्ष पुरुषोत्तम घिमिरे र तिलोत्तमा नगरपालिकाका मेयर समेत रहेका बासुदेव घिमिरेले दावी गर्दै आएका थिए। अध्यक्ष मण्डलले नामहरु सिफारिस गरेपछि यसअघिका आकांक्षीहरुले उम्मेदवारी दर्ता गर्छन् गर्दैनन् त्यो भने हेर्न बांकि नै छ।
एमालेको विधान अनुसार रुपन्देहीमा १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गर्ने प्रावधान रहेको र ति सबै नामहरु अध्यक्ष मण्डलबाटै प्रस्ताव गरिएका छन्। विभिन्न पदहरुमा उम्मेदवारी दिन चाहने प्रतिनिधीहरुलाई शुक्रवार नै मनोनयन पत्र वितरण गरेपनि मनोनयन पत्र दाखिला भएको थिएन।