बुटवल । प्रेस सेन्टर नेपालले आफ्नो स्थापनाको १८औं बर्ष पूरा गरेको छ । स्थापना दिवसको सन्दर्भमा देशैभरी कार्यक्रम गरेको सेन्टरको रुपन्देही जिल्ला समितिले बृद्ध आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । शनिबार रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित श्री सत्यसाई वृद्ध सेवा आश्रम पुगेर प्रेस सेन्टर रुपन्देहीले आश्रममा रहेका जेष्ठ नागरिक एवं व्यवस्थापन टिमसंग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा बोल्दै नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक नारायण जीसी ‘निर्मल’ ले सम्मानित बुवा आमाहरूलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताए । बुवा आमाहरू बृद्ध आश्रममा बस्नुपर्ने विविध कारण हुन सक्छन् तर राज्य संयन्त्रले उहाँहरूको खानपान, बसाई देखि स्वास्थ्यको विषयमा समेत ध्यान पुर्याउन सके जेष्ठ नागरिकप्रति सम्मान हुने र सेवा आश्रम व्यवस्थापन गरिरहनुभएका सेवकलाई समेत सहज हुने उनको भनाइ थियो ।