

एउटा देशमा
दुइटा देश
एउटा देश चिलगाडी चडेर
नदी तर्नेहरूको देश
अर्को देश तुइनमा झुन्डिएर
नदी तर्नेहरूको देश
एउटा देशमा
दुइटा देश
एउटा टुप्पा
अर्को ठेक(पिँध)
एउटा देशमा
दुइटा देश
एउटा देश हेलिप्याड चडेर
भोट माग्नेहरूको देश
अर्को देश तुइनमा झुन्डिएर
भोट हाल्नेहरूको देश
एउटा देशमा
दुइटा देश
एउटा टुप्पा
अर्को ठेक ।
एउटा देशमा
दुइटा देश
एउटा देश रुघा लागे आछिव गर्न
सिंगापुर जानेहरूको देश
अर्को देश दम लागे आस्थालिन नपाई
चिहान जानेहरूको देश
एउटा देशमा
दुइटा देश
एउटा टुप्पा
अर्को ठेक ।
एउटा देशमा
दुइटा देश
एउटा देश मार्सी–भात खाएर
देश हाक्नेहरूको देश
अर्को देश मार्सी धान रोपेर
भोकै सुत्नेहरूको देश
एउटा देशमा
दुइटा देश
एउटा टुप्पा
अर्को ठेक ।
एउटा देशमा
दुइटा देश
एउटा देश नचुहुने छानाहरूको देश
जसले पानी पर्दा
झरीको संगीत सुनेर बस्छ
अर्को देश चुहुने छानाहरूको देश
जसले पानी पर्दा
कचौरा थापेर बस्छ ।
एउटा देशमा
दुइटा देश
एउटा टुप्पा
अर्को ठेक ।
एउटा देशमा
दुइटा देश
एउटा देश हुकुमहरूको देश
जसले दास उत्पादन गर्छ
अर्को देश गुलामहरूको देश
जसले दास जन्माउने गर्छ
एउटा देशमा
दुइटा देश
एउटा टुप्पा
अर्को ठेक
एउटा देशमा
दुइटा देश
एउटा देश मालिकहरूको देश
जसले रातो बाकसमाथि उभिएर गाउँछ
सयौँ फूलका थुंगा हामी
एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची–महाकाली
अर्को देश दासहरूको देश
जसले रातो बाकसमुनि थिचिएर गाउँछ
सयौँ फूलका थुंगा हामी फरक माला नेपाली
दास भई फैलिएका अरब मुलुक खाडी
दास भई फैलिएका प्रदेश मुलुक खाडी
एउटा देशमा
दुइटा देश
एउटा टुप्पा
अर्को ठेक
वर्गदेश ।
वर्गदेशमा
दास उत्पादनको भाँडो फुटालेर
एकदिन जन्मिन्छ स्पार्टाकस
यही वर्गसंघर्ष हो
दिस इज क्लास स्ट्रगल ।