लुम्बिनीमा देउवाले गरे भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै यहाँ आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यहाँ आइपुगेका हुन् ।

 

यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक स्वागत गरे । भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वागत गरेका थिए ।

 

साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्खरदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्मा, काठमाडौंस्थित भारतीय राजदूतावासका कार्यबाहक राजदूत नाम्या खम्पालगायतले पनि पनि भारतका विशिष्ठ अतिथिलाई हार्दिक स्वागत गरेका थिए ।

 

हेलिकोप्टरबाट ओर्लिएपछि एकत्रित भएका सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरे । यसपछि भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation