![](https://ujyaalopost.com/wp-content/uploads/2022/05/lumbini-seminar-hal-1.jpg)
बुद्ध जन्मस्थल लुम्बिनीमा नवनिर्मित अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । चार विगाहामा निर्मित ५ हजार क्षमताको उक्त सभाहल तथा सम्मेलन केन्द्रको सोमबार बिहान प्रधामन्त्री देउवाले उद्घाटन गरेका हुन् ।
उक्त सम्मेलन केन्द्र निर्माणको लागि २०७५ बैशाख १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिईन । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार यो मुलुककै ठूलो र दक्षिण एशियाकै नमूना सभाहल हो ।
छाता शैलीमा निर्माण गरिएको सम्मेलन केन्द्रमा १० मिटर गहिराइका १४० वटा पाइल फाउन्डेसनमा निर्माण गरिएको छ । फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । सभाहलको चारैतिरबाट चाइनिज इँटाको पर्खाल छ भने हलभित्र पस्न मुख्य तीन वटा सेन्सर ढोका र ५२ वटा साधारण ढोका छन् । हलमा हुने कार्यक्रम सबै कुनाबाट सुन्न सकिनेगरी निर्माण गरिएको छ ।
योजनाअनुसार ३ वर्षमा निर्माण पूरा हुनुपर्ने उक्त केन्द्र कोरोना महामारीका कारण ४ वर्षमा सम्पन्न भएको छ । कोरियन प्रविधिबाट छाना निर्माण गरिएको हलको भित्री सजावटमा चिनियाँ सामग्री प्रयोग भएका छन् । सभाहल गर्मीमा चिसो र जाडोमा तातो हुने वातानुकुलित प्रविधिसमेत जडान गरिएको छ । उज्यालोका लागि छतमा ४ सय ७६ वटा बत्ती जडान गरिएको छ भने सभा हलको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने तथा साउण्ड प्रुफ प्रविधि राखिएको छ ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईका अनुसार सभा हलमा बौद्ध सम्मेलनमात्र नभई सार्क, विमष्टेकजस्ता अन्तर्राष्ट्रिय ठूला सम्मेलन समेत आयोजना गर्न सकिने छ । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज सोही सम्मेलन केन्द्रमा आयोजित २५६६ औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।