बालेन शाहको शक्तिको स्रोत

दिल सहानी । यतिबेला नेपालको राजनीतिको चर्चाको शिखरमा छन् काठमाण्डौका मेयर बालेन शाह । उनी पहिले पनि चर्चित व्यक्ति हुन् । ठूला ठूला पार्टीका उम्मेदवारहरुलाई पछारेर काठमाण्डौ महानगरपालिकाको मेयरमा विजयी बने पछि बालेन शाहको चौतर्फी चर्चा हुनु स्वभाविक हो । उनी यतिबेला नेपाली राजनीतिका बहुचर्चाका विषय बनेका छन्, व्यक्ति बनेका छन् । केन्द्र बनेका छन् । वास्तवमा ठूला ठूला पार्टीका उम्मेदवारलाई पछारेर मेयर पदमा विजयी हुनु चानचुने कुरा होइन पनि । थिएन पनि । बालेन शाहमा अद्भुत क्षमता भएर नै उनी विजयी भएका हुन् । हुन त कुनै पनि व्यक्ति विजयी एक दुई कारणले मात्र बन्दैन । यसका अनेक कारणमध्ये एउटा कारण पार्टीप्रतिको जन आक्रोश पनि हुन सक्दछ । कारण जे भए पनि बालेन शाह यतिबला काठमाण्डौ महानगरपालिकाको मेयर पदमा शानदार रुपमा विजयी बनेका छन् । सत्य कुरा यही हो ।

बिहानीले दिनको संकेत गर्दछ भने जस्तै उनले सर्वप्रथम बैठकलाई पारदर्शी बनाउने र काठमाण्डौको फोहोर व्यवस्थापनको समस्यालाई हल गर्ने दिशातिर पाइला चालेका छन् । यिनको काम गर्ने शैली पनि राम्रो र प्रभावकारी नै देखिन्छ । आकर्षक नै देखिन्छ । स्टक्चरल इंजिनियङिमा मास्टर गरेका बालेन शाह शहरको विकास बारे अनभिज्ञ छन् भन्न सकिन्न । उनको विकासको कुनै भिजन छैन भन्न सकिन्न । उनीसङ विकासको योजना तथा नीति छैन पनि भन्न सकिन्न । तर पनि हुन त उनी फगत एउटा व्यक्ति । जसको कुनै जन आधार छैन । जनताले त उनलाई जिताएर पठाइदिए । त्योभन्दा बढी जनताले उनको सहयोग गर्नं सक्ने कुरा हुँदैन भन्दा पनि हुन्छ एक अर्थमा । त्यसैले उनले कसरी आफ्नो योजना वा परिकल्पना लागू गर्न सक्लान् भन्ने प्रश्न उठ्नु गलत कुरा होइन । दलका उम्मेदवार विजयी भएमा पुरै दल आफ्ना प्रतिनिधिको पक्षमा काम गरिरहको हुन्छ । यस्ता पदाधिकारीका पछि सिंगो पार्टी लागेको हुन्छ । फेरि कर्मचारीमा पनि पार्टीकै पकड हुन्छ । बालेन शाहलाई यो सुविधा उपलब्ध हुन संभव छैन । यसैले लोकप्रिय अत्यधिक मतबाट मेयर पदमा विजयी बनेका बालेन शाहलाई काम गर्न सजिलो छैन । उनका अगाडि चुनौती नै चुनौतीका पहाड खडा छन् । उनले यिनी चुनौतीको सामना गर्दै अघि बढ्नु पर्ने हुन्छ ।

हिन्दीमा एउटा उखान छ ‘जिसका कोइ नहीं होता उसका खुदा होता है’ । बालेन शाहका पछि उनको पार्टी छैन । उनका पछाडि झोले कार्यकर्ता छैनन् । उनका आफ्ना कर्मचारी छैनन् । छन् त केवल उनलाई भोट दिने मतदाता । मतदाताले उनलाई साथ दिने भनेको पाँच बर्षमा एक दिन हो । एक दिनमा पनि एक घण्टा हो । एक घण्टामा पनि एक मिनट मात्र । मतपत्रमा छाप लगाएर मत पेटिकामा खसाल्ने वेलासम्म । अरु वेला त जे गर्नु छ आफ्नै बलबुता र बुद्धिको बलमा गर्नु पर्ने हुन्छ । आफ्नै क्षमताको भरमा गर्नु पर्ने हुन्छ । आफ्नै कला र सीपको भरमा गर्नु पर्ने हुन्छ ।

बालेन शाहको अगाडि यतिबेला दुईवटा विकल्प छन् । एउटा विकल्प हो कुनै एउटा आफूलाई मन परेको वा आफूले रोजेको पार्टीको पुच्छर समात्नु । अर्थात कुनै एक चलेको पार्टीमा प्रवेश गर्नु । कुनै एक पार्टीका अबीर लगाउनृु । टिका लगाउनृु । माला लगाउनु । सिन्दुर पहिरिनु । काङ्ग्रेसमा प्रवेश गर्नु । एमालेमा प्रवेश गर्नु । माओवादीमा प्रवेश गर्नु । राप्रपामा प्रवेश गर्नु आदि इत्यादि । अर्को विकल्प हो कुनै पार्टीमा प्रवेश नगर्नु । कुनै पार्टीलाई नचिडाउनु । सबै पार्टीप्रति समदुरीको सिद्धान्तलाई अनुशरण गर्नु । कसैको नभए पनि सबैको भएको अनुभूति दिनु । यथार्थ अभिनय गर्नु । अरु केही नभए पनि सबैको आर्शीवाद लिनु । यसो गरेमा कसैको नभएर पनि सबैको भएर काम गर्न सकिन्छ । यसरी उनी आफै एउटा नयाँ पार्टी पनि गठन गर्न सक्दछन् ।

बालेनका विजयले के कुरा पुन प्रमाणित गर्यो कि चुनाव जित्नलाई दल चाहिदो रहेनछ । हुन त हाम्रो देशमा बहुदल र निर्दलबीच चुनाव हुँदा दलले होइन निर्दलले विजय हासिल गरेको थियो । निर्दल भनेको दलको पर्यायवाची शब्द होइन । विपरीतार्थक शब्द हो । जे होस्, विगतले के बताउँछ भने, हाम्रो देश भनेको दलले शासन गर्ने देश होइन । निर्दलले शासन गर्ने देश हो । त्यसैले त राणाहरूले कुनै दल बिना १०३ बर्ष नेपालमा राज गरे । एक छत्र राज गरे । बीचमा कुनि कसरी दल देखा परे । ईदको चाँद जस्तै । तर राजा महेन्द्रले दल यो देशको हावा पानी र माटो सुहाउँदो व्यवस्था होइन भनेर बी पी नेतृत्वको दुई तिहाई भन्दा बढी मत ल्याएको सरकारलाई एक गास बनाइदिएका थिए । कराप्प झराप्प बनाइदिएका थिए । मुलकमा दल बिना नै शासन सत्ता चलाइदिएका थिए । त्या पनि एक दिन दुई दिन वा एक वर्ष दुई वर्षसम्म हो र पुरै तीस वर्षसम्म । बाह्र बर्षमा त खोला पनि फर्किन्छ भन्छन् । ०७ सालमा बल्ल बल्ल आएको बहुदल निर्दलीय पंचायती राजमा स्वतन्त्रतापूर्वक ३० वर्षसम्म चल्यो । तीन दशकसम्म चल्यो । बीचमा मृुलुकको दलको शासन रह्यो । दलको शासन भनेको एउटा पार्टीको शासन हो रहेछ । एउटा परिवारको शासन हो रहेछ । एउटा गुटको शासन हो रहेछ । एउटा व्यक्तिको शासन हो रहेछ । बहुदलमा पनि निर्दल हुँदो रहेछ । यसैको उपज हुन् – बालेन शाह । नेपालको इतिहासमा बालन शाहको उदयलाई जंग बहादुरको उदयको रुपमा हेर्न नसकिने त होइन । बुझ्न नसकिने त होइन । तर दुवैको युग र शिक्षा–दीक्षा फरक भएको हुँदा बालन शाहलाई जंगबहादुरसित तुलना गर्नु मुर्खता हुन्छ होला । कहाँका अनपढ अंगुठा छाप जंगबहादुर कहाँका इंजिनियरिङमा मास्टर गरेका पढालेखा बालेन शाह । कहाँका बन्दुकको बलमा सत्तामा पुगेका बाहुबली जंगबहादुर । कहाँ जनमतको आधारमा शक्तिमा पुगेका बालेन शाह । कहाँ सिंगो नेपालका शासक जंगबहादुर । कहाँ काठमाण्डौ महानगरपालिकाका मात्र मेयर । यी दुई व्यक्तिको बीचमा आकाश पातालको फरक हुने नै भयो ।

जे होस्, बालेन शाहले यतिबेला सबैको मन जित्न सकेका छन् । समर्थको पनि मन जितेका छन्, विरोधीको पनि मन जितेका छन् । दलको पनि मन जितेका छन्, निर्दलको पनि मन जितेका छन् । उनी ज्ञानेन्द्र शाहको अगाडि उभिएर फोटो खिचे भने राजावादी जस्ता देखिन्छन् । वास्तवमा, उनको उत्पति पनि राजदरबार कै छेउछाउमा भएको रहछ । यसैले त्यसको केही न केही प्रभाव त उनमा पर्ने नै भयो । आखिर धरतीबाट अनन्त माइल टाढा रहका नौ ग्रहको प्रभाव यस धरतीका प्राणीहरूमा पर्न सक्दछ भने दरबारका छेउछाउमा जन्मेका हुर्केका बालन शाहमा दरबारको प्रभाव पर्ने नै भयो । यो अस्वाभाविक कुरा होइन । अनहोनी कुरा होइन । यिनले के.पीको अगाडि उभिएर फोटो खिचे भने यिनी दुरुस्त एमाले एमाले जस्ता देखिन्छन् । फेरि यिनले शेरबहादुर देउवाको अगाडि उभिएर फोटो खिचे भने यिनी काटीकुटी कांग्रेस कांग्रेस जस्ता देखिन्छन् । फेरि यिनले चिटिक्क लुगा लगाएर कमरेड प्रचण्डको अगाडि उभिएर एउटा फोटो खिचाए भने यिनी दुृरुस्त माओवादी माओवादी जस्ता देखिन्छन् । वास्तवमा यतिबेला बालेन शाह ५२ पत्तीका ५३ खेल जस्ता देखिन्छन् । तासका जोकर जस्ता पनि दखिन्छन् । ईटामा राख्दा ईटा जस्ता । पानमा राख्दा पान जस्ता । चिडियामा राख्दा चिडिया जस्ता । हुकुममा राख्दा हुकुम जस्ता । हुन त तासको जोकर भन्दा नराम्रो सुनिन्छ । तर पनि तासको जोकर हुनु भनको जता पनि फिट हृुन सक्नु हो । बालेन शाहको भलो र भविष्य तासको जोकर हुनुमा नै छ । जता पनि फिट हुन सक्नुमा नै छ । कसैको पनि नभएर पनि सबैको हुनुमा नै छ । समदुरीको सिद्धान्तमा कायम रहनुमा नै छ । यदि उनले कुनै एउटा खास पार्टी रोजे भने अर्को पार्टीको सहयोग पाउन गाह्रो छ । बहुदलकालमा बालेन शाह निर्दल हुनु नै उनको शक्तिको स्रोत हुन सक्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation