राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना हुन नसक्ने पनि बताउनु भयो । उहाँले राजसंस्थाको औचित्य समाप्त भएको बताउनु भएको छ । उहाँले अब कुनै पनि ‘राजसंस्था पुन:स्थापित भयो भने दुःखीत हुन्न ।’ उहाँले भन्नुभयो–‘तर असंभव बाटोमा लागेर काम छैन ।’
पार्टीको लुम्बिनी प्रदेश स्तरीय कार्यकर्ता भेलामा आउनु भएका अध्यक्ष थापाले बिहिबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस, एमालेको साथ र समर्थन विना राजनीतिक परिवर्तन संभव नभएको बताउनु भयो । ‘हिजो राजसंस्थालाई टाउकोमा बोकेर हिडियो, त्यो अभियानमा राजा र राजसंस्थाको कुनै प्रकारको सहयोग पाईएन ।’ उहाँले भन्नुभयो–‘बहुलठ्ठी पारश शाहका लागि सति जना सकिँदैन ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीमा सैद्धान्तिक रुपमा विचलन आएको बताउँदै उहाँले राप्रपाले राजसंस्थाको एजेण्डा छाडेमा स–सम्मान पार्टी एकता गर्न सकिने भनाई राख्नुभयो । तर राप्रपा निर्मल निवासको रिमोट कन्ट्रोलमा रहेकाले त्यो भने संभव नभएको उहाँको भनाई छ ।
राप्रपामा सैद्धान्तिक रुपमा विचलन आएपछि राप्रपा नेपाललाई पुन जाग्रित गरिएको र देशको धरातललाई आत्मसात गरेर नयाँ सोचका साथ राप्रपा नेपाललाई अघि बढाउन खोजिएको उहाँले बताउनु भयो । सोही अनुसार छोटो अवधिमा देशका ७७ वटै जिल्ला र भातृसंगठानहरुको संरचना तयार भईसकेको अध्यक्ष थापाले बताउनु भयो ।
राष्ट्रियता, समाजवाद र हिन्दुराष्टको एजेण्डा बोकेको राप्रपा नेपालले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र, प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट निर्वाचित राष्ट्रपति, दुई तहको संघीयताको वकालत गरिएको उहाँले बताउनु भयो । पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र सर्वसहमतिमा गर्नुपर्ने र त्यसो हुन नसकेमा त्यस विषयमा जनमत संग्रह गर्न सकिने उहाँको भनाई छ ।