
पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुको आकर्षण गन्तव्य अमेरिका,चीन,रुस,माल्दिभ्स, भारतलगायतका मुलुक बनेका छन् । चिकित्सा शिक्षाको पढाइ व्यवस्थित र स्तरीय नहुँदा विद्यार्थीहरुको धमाधम बाहिरिने प्रवृत्ति बढेको हो । मेडिकल शिक्षाकै लागि वर्षेनी ९८ अर्ब रुपैयाँ देश बाहिर जाने गरेको छ ।
प्रतिस्पर्धा गर्ने गुणस्तरको पठनपाठन नेपालमा सम्भव नभएको विद्यार्थीहरुको बुझाइ छ । यता, पढाइ सकिए पनि रोजगारी नपाउने डरले पनि उनीहरु बाहिरिने गरेको बताइन्छ । विदेशिने विद्यार्थीको पारो चढेसंगै गुड स्ट्यान्डिङ सर्टिफिकेट लिनेको संख्या पनि बढेको छ ।
गुड स्ट्यान्डिङ सर्टिफिकेट ९जीएससी० लिने विद्यार्थीहरुको संख्या एक वर्षको अवधिमा ह्वात्तै बढेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । थप अध्ययन र रोजगारीका लागि बाहिरिने विद्यार्थीलाई यो सर्टिफिकेटको आवश्यकता पर्दछ ।
नेपाली विद्यार्थीलाई बाहिरी मुलुकमा मान्यता दिने आधार हो यो । नेपालमा यो प्रमाणपत्र पदोन्नति र दर्ताको स्थिति जाँच्न दिने गरिएको छ । जीएससी सर्टिफिकेट वैध चिकित्सकको अनुरोधमा जारी गरिने काउन्सिलले जनाएको छ ।
स्नातकोतर तहमा अध्ययन गरिरहेका विद्यार्थीलाई अरु देशमा गएर डाक्टरी गर्नका लागि यो नभई हुँदैन । बिरामी जाँच्नका लागि सबैभन्दा पहिले यसकै माग हुन्छ । रेजिडेन्स तालिम,फेलोसिप गर्न स्वीकृति दिने र जागिर दिलाउने सर्टिफिकेट हो यो । चीन, रुसलगायतका मुलुकले भने यो प्रमाणपत्रलाई अनिवार्य गरेका छैनन् ।
यी मुलुकले चिकित्सा पढाउने तर बिरामीको चेकअप गर्न नदिने भएकाले स्नातकोत्तर तहको अध्ययनका लागि जीएससी नभएपनि हुने काउन्सिलले जनाएको छ । इलिजिबिलिटी प्रमाणपत्रको आधारमा चीन,रुसलगायतका मुलुकले विदेशी विद्यार्थी भित्राउने गरेका छन् ।
सन् २०२० मा काउन्सिलबाट एक हजार ८७ विद्यार्थीले सर्टिफिकेट लिएका छन् । त्यस्तै, सन् २०२१ मा बढेर एक हजार ५०१ पुगेको छ । एक वर्षको अवधिमा सर्टिफिकेट लिनेको संख्या ४१५ ले थपिएको छ । नेपालबाट चिकित्सा शिक्षा अध्ययन र रोजगारीका लागि माल्दिभ्स जाने विद्यार्थीको संख्या सबैभन्दा धेरै छ ।
२०२० मा २१६ ले प्रमाणपत्र लिएकोमा २०२१ मा बढेर ४०३ पुगेको हो । काउन्सिलले दिएको तथ्याङ्कअनुसार एक वर्षमा १८७ ले बढेको छ । त्यसपछि, विद्यार्थीको आकर्षण भने युकेतिर रहेको देखिएको छ । युके जानका निम्ति ३१९ विद्यार्थीले प्रमाणपत्र लिएका छन् । २०२० मा जम्मा १६२ विद्यार्थीले प्रमाणपत्र लिएको काउन्सिलले जनाएको छ ।
त्यस्तै, संयुक्त राज्य अमेरिका जानका लागि प्रमाणपत्र लिनेको संख्या भने ओरालो लागेको छ । २७६ बाट घटेर २७३ पुगेको तथ्याङ्कमा उल्लेख छ । स्नातकोत्तर अध्ययनका लागि भारत प्रस्थान गर्नेको पनि ओइरो लागेको छ । एक वर्षमा दोब्बर नेपाली भारततिर लम्किएका छन् । ६२ बाट थपिएर १५९ पुगेको काउन्सिलको भनाइ छ ।
अष्ट्रेलियाका लागि ६६ जनाले जिएससी प्रमाणपत्र लिएका छन् । एक वर्षमा जम्मा चार विद्यार्थी थपिएका हुन् । ५३ ले युनाइटेड अरब इमिरेट्स र ६ ले कतार अध्ययनका लागि रोजेका छन् । काउन्सिलकाअनुसार क्यानाडा, जर्मनी र सिंगापुरमा चिकित्साका विद्यार्थीको त्यति आकर्षण देखिएन ।
जर्मनीका लागि २३, क्यानाडाका लागि १७ र सिंगापुरका लागि एक जनाले जीएससी सर्टिफिकेट लिएका छन् । आयरल्याण्डका लागि पाँच जनालाई अनुमति दिइएको छ । स्नातकोत्तर तहको चिकित्सा शिक्षाका लागि साउदी अरब र ब्रुनाई जानेको संख्या एक–एक रहेको छ ।
डेनमार्क,हङकङ,बेल्जियमका लागि प्रमाणपत्र लिने शून्य छन् । त्यसैगरी, नेपालमै अध्ययन र रोजगारी गर्नका लागि १७५ जनाले अनुमति पाएका छन् । नेपालबाट एमबीबीएस, बिडिएस, एमडी–एमएस र एमडीएस अध्ययनका लागि विद्यार्थीहरु विदेशिने गरेका छन् ।