काँग्रेस १५०,१२७ हुँदै हिजो बेलुकासम्म सयमा

झण्डै एक महिनादेखि दिनहुँजसो जारी सत्तारुढ गठबन्धन दलका शीर्ष नेता तथा सीट बाँडफाँड कार्यदलको बैठकमा देखिएको तानातानले हिजोदेखि सामान्य गति लिन थालेको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ एक सय ६५ सीटमध्ये शुरुमा नेपाली काँग्रेसले आफू पक्का जित्ने १५० र त्यसपछि एक सय २७ सीटको हिसाब देखाएको थियो ।
हप्तौंसम्म काँग्रेस टसको मस नभएपछि अन्य घटकहरुले पनि आफ्नो अडान संख्यामा भ्याट जोडेर अडान राखे । असोज २ गते बन्द सूची पेश गर्नुपर्ने दिन नजिकिएको, अन्य वातावरणले पनि दवाव सिर्जना गरेपछि काँग्रेसले बाध्य भएर अडानलाई हल्का ढंगले वास्तविकतातर्फ लैजान खोजेको अर्थ लगाइएको छ ।
हिजो बालुवाटारमा बसेको कार्यदलको बैठकमा भने नेपाली काँग्रेस डा. शेखर कोइरालाले भन्दै आएको एक सय सीटमा अडिएको छ । चार हप्ताको बीचमा उसले ५० र २७ सीटको अडान छाडेको छ ।
पहिले क्षेत्रगत हिसाबले काँग्रेसले आफ्नो पकड क्षेत्र डेढ सय भएको दाबी गरेको थियो । ‘साउनदेखि नै उसले एक सय ४९ सीट आफूलाई र १६ सीट अरुलाई भन्दै आएको थियो,’ वार्तामा सहभागी माओवादीका एक जना नेताले भने । त्यसपछि शेखरहरुले बाहिर एक सय सीटको रटान लगाएझैँ हिजोदेखि कार्यदल बैठकमा पनि नेपाली काँग्रेसका प्रतिनिधिले एक सय सीट भनेको स्रोतको दाबी छ ।
उता, माओवादीको ७५ सीट दाबी थियो । अहिले उसले पनि ६० सीटबाट घट्न नसक्ने भन्न थालेको छ । गत निर्वाचन र स्थानीय तहको परिणामलाई मध्यनजर गर्दै दलहरुले आजबाट फेरि अडानमा रहेको सीट संख्या घटाउने विश्वास गरिएको छ ।
माओवादी प्रतिनिधिहरुले कसेर कुरा गरेको अवस्थामा काँग्रेस कम्तिमा ७२ सीटमा झर्ने सम्भावना पनि उत्तिकै रहेको खुमलटारमा रिपोर्टिङ भएको छ । एक एक निर्वाचन क्षेत्रको बारेमा विश्लेषण गरेर छलफल गरेको अवस्थामा सबै दलले आफ्नो अडानबाट पछाडि हट्नुको विकल्प नभएको जनता समाजवादी पार्टीका नेताहरुको बुझाइ छ ।
गठबन्धनमा नरहेका तर नेपाली काँग्रेससँग निकटको सम्बन्ध राख्न खोजिरहेका लोसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको निर्वाचन क्षेत्रको पनि काँग्रेसले जिम्मा लिएको खबर बाहिरिएको छ । तर नामै लिएर काँग्रेसले त्यसबारे केही पनि नभनेको कार्यदल सदस्यहरुको बुझाइ छ । ‘निर्वाचन क्षेत्रको बारेमा छलफल भएको छ । व्यक्ति को उठ्ने भन्नेबारे केही उल्लेख भएको छैन,’ बैठकमा भएको छलफलबारे एक जना सदस्यले बताए ।
उनका अनुसार काँग्रेस मिलेर चुनावको तयारीमा रहेकाले एक पक्षीय,द्विपक्षीय र त्रिपक्षीय कुराकानीमा उसको लचकता देखिएको खुमलटारको बुझाइ छ । पार्टीगत पकड र प्रभावको आधारमा कुरा गर्न थालेपछि काँग्रेस बढीमा ८२ सीटमा अडिने,माओवादी ४५ देखि ५०,जसपा २० र समाजवादी पनि २० मा अडिने अवस्था बन्ने विश्लेषण गरिएको छ ।
अहिलेसम्म प्रतिनिधि सभाको निर्वाचनमा छलफल केन्द्रित रहेको र प्रदेशको बारेमा पछि छलफल हुने बैठकको कार्यतालिका बनाइएको छ । ती सबै छलफलमा २०७४ र गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको परिणामलाई आधार मानेर सबै दलका प्रतिनिधिले आफ्ना कुरा राखेका हुन् ।
कार्यदल बैठक आज पनि बिहान सवा १० बजेदेखि बालुवाटारमा जारी छ । गठबन्धन दलका शीर्ष नेताहरुबीच भएका सामूहिक,एकल र द्विपक्षीय छलफलले पनि निकास निकाल्न सहजिकरण गरेको बताइन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation